एमसिसी विरुद्ध भदौ २२ गतेको कार्यक्रमप्रति कुवेत नेपाली एकता समाजको ऐक्यबद्धता:

| २०७८ भदौ २१ गते १७: ३२ मा प्रकाशित

कुवेत। एमसिसी विरुद्ध २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाको आह्वानमा देशव्यापी विरोधसभा सम्पन्न हुन गइरहेकोमा कुवेत नेपाली एकता समाजले त्यसप्रति एक्यबद्धता प्रकट गरेको छ ।

समाजका अध्यक्ष निम बुढामगर र महासचिव खुम रायमाझीको हस्ताक्षरमा भदौ २१ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

देशविदेशमा छरिएर रहेका सम्पूर्ण देशभक्त, जनतान्त्रिक तथा वामपन्थी शक्तिहरू भई एमसिसी विरुद्धको आन्दोलनमा सक्रिय रहनका अपिल गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–

सरकारले आफ्नो न्यूनतम् कार्यक्रमबाट बाहिर राखेको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई घुमाउरो बाटोबाट दबाब बनाएर संसदबाट पारित गराउँने चलखेल शुरू भएको प्रति हाम्रो संगठन कुवेत नेपाली एकता समाजको गम्भिर ध्यानाकर्षण भएको छ ।

मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) हाम्रो देशको स्वतन्त्रता र सार्वभौमिकताका विरुद्धमा रहेको कुरा सबैलाई जानकारी छ । पहिले त्यो नेपाली जनताको विरोध र संघर्षका कारणले संसदमा प्रस्तुत हुनबाट रोकिएको थियो । अहिले पुनः त्यसलाई नेपालको संसदबाट पारित गराउने चलखेल सुरू भएको छ । अमेरिकन साम्राज्यवादले विभिन्न प्रकारले दबाब दिएर एमसिसिलाई पारित गराउने षडयन्त्र गरिरहेको छ । देशका कतिपय राजनीतिक पार्टीहरुको अदुरदर्शिता एवं साम्राज्यवादीहरुसितको संझौतापरस्त चरित्रका कारणले एमसिसिलाई पास गराउन जोड गरिरहेका छन् । अहिले एमसिसि विरुद्धको संघर्षलाई उच्च बनाएर लैजानुपर्ने आवश्यकता छ । 

त्यो पक्षमाथि ध्यान दिएर २०७८ भाद्र २२ गते राष्ट्रिय जनमोर्चाको आयोजनामा देशव्यापी रुपमा एमसीसी विरुद्धको कार्यक्रम सम्पन्न हुने भएको छ । उक्त विरोधका कार्यक्रमप्रति कुवेत नेपाली एकता समाज ऐक्यवद्धता प्रकट गर्दछ । साथै देश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु एक भई एमसिसि विरुद्ध आन्दोलनमा सक्रिय रहनका लागि अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्