रवि लामिछानेको नागरिकताबारे काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

| २०७९ मंसिर १६ गते २०: ४० मा प्रकाशित

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारबाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परेको थियो ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट काठमडौंंलाई त्यसबारे बुझ्न पत्राचार गरेको थियो । त्यसक्रममा ‘अनुसन्धान गर्नुपर्ने’ विषयहरु देखिएको भन्दै प्रशासनले छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रशासनबाट पत्र प्राप्त भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘पत्रका आधारमा छानबिन सुरु गरिसकेका छौं’, उनले भने ।

लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएका थिए । नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्यागेको कुनै औपचारिक प्रमाणपत्र नदेखाएको उजुरीमा उल्लेख छ । त्यसरी नागरिकता त्याग गर्दा पनि कानूनतः पुर्नप्राप्तिको प्रक्रियामा जानुपर्नेमा उनले पूरा नगरी निर्वाचन आयोगमा दल दर्ता र उम्मेदवार हुँदा पुरानै नागरिकता पेश गरेको उजुरीमा भनिएको छ ।

‘यो कुरा रवि स्वयम्ले स्वीकार गरेका छन् । विदेशी नागरिकता त्यागेको दावी गरेतापनि विदेशी नागरिकता त्यागेको र नेपाली नागरिकता पुर्नप्राप्ति गरेको कुनै प्रमाण पेश गर्न सकेका छैनन्’, उजुरीमा भनिएको छ ।

अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमन विभागको समस्या समाधान भएपछि अरु कुनै प्रक्रियामा नगएको लामिछानेले सार्वजनिक रुपमा भनेको उजुरीमा उल्लेख छ । त्यसैले लामिछानेले दल दर्ता गर्दा निर्वाचन आयोगलाई गुमराहमा राखेको दाबी उजुरीमा छ ।

खारेज भइसकेको दाबी गरिएको नागरिकताकै आधारमा लामिछानेले राहदानी पनि बनाइसकेका छन् । स्वयम् लामिछानेले चाहिँ चुनावअघि  कुरा गर्दै नेपालको कानून आकर्षित हुने कुनै पनि कसूर नगरेको बताएका थिए ।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै राजकुमार पाण्डेले पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । आयोगले एक साताभित्र स्पष्टिकरण बुझाउन भनेको थियो । तर, निर्वाचन परिणाम घोषणापछि उम्मेदवारको योग्यता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंग्याउन नसक्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको छ । स्रोत - अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्