बालिकाको हत्यारालाई कारबाही गर्न माग गर्दै हिसारमा मूल प्रवाहको प्रदर्शन

| २०७९ फागुन २ गते १९: ५७ मा प्रकाशित

खिमराज चालिसे,चण्डीगढ। भारतको हिसारमा निर्ममतापूर्वक हत्या गरिएकी आठ वर्षीया बालिकाको हत्यारालाई कडा कारबाहीको माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विरोध प्रदर्शन गरेको छ ।

मूल प्रवाहले दिनभर महाराजा अग्रसेन जिल्ला नागरिक अस्पताल हिसारमा विरोध प्रदर्शन गरेको थियो भने साँझ मैनबत्ती जुलुश गरेको छ ।

मृतक बालिकाको न्यायका लागि मूल प्रवाहको ब्यानरमा हिसारको अनाज मन्डिको मेन गेटदेखि नोगरी गेटसम्म क्यान्डिल मार्च (मैनबत्ती जुलुश) गरिएको हो ।

प्रदर्शनसँगै मूलप्रवाहले प्रदर्शनस्थलमै नेरु २२ हजार चार सय रुपैयाँ संकलन गरि पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।

यस्तै, व्यापार मन्डलका पूर्वअध्यक्ष बजरंगदास गर्गले बालिकाको पक्षमा स्वेछिक रुपमा कानुनी लडाईं लड्ने गरि वकिलको सम्पूर्ण खर्च वहन गर्ने घोषणा गरेका छन्।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विरोध प्रदर्शन 

उक्त प्रदर्शनपछि बालिकाको अन्तिम संस्कार गरिएको मूल प्रवाहका केन्द्रीय नेता तारा सोमरेले बताउनु भएको छ ।

कैलाली जिल्लाको घोडाघोडी–४ राम शिखरझाला निवासी तथा हाल अनाज मन्डीमा बसोबास गर्ने लक्ष्मण गिरि र लक्ष्मी गिरीकी आठ वर्षीया छोरी ममता गिरीको शव खाल्टोमा पुरिएको अवस्थामा फेला परेको थियो ।

उनको बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीयलाई गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्