अन्तरजातीय विवाह गरेको चारदिन पछि केटाको घरमा आगजनी

| २०८० असार १७ गते १९: ०१ मा प्रकाशित

अन्तरजातीय विवाह गरेको चारदिन पछि गिडिखोलाका मुकुन्द नेपालीको घरमा आगो आगजनी भएकाे छ ।जुम्लाकाे ताताेपानी गाउँपालिका गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग गएकाे साता भागिबिहे गरेका थिए ।

२० वर्षीय मुकुन्दले उमेर नखुलेकी युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेकाे स्थानीयहरू बताउँछन् ।

केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन् । बसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएकाे आफन्तलाई फाेनमा भनेकाे बुझिएकाे छ।

मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेकाे चार दिन पछि ‘दलित केटा’काे घरमा एक्कासी आगाे लागेकाे मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन्।

‘भाइले अन्तारजातीय बिहे गर्नु र त्यसकाे चार दिन पछि आगाे लाग्नु संयाेग नभएर याेजना हाे,’ उनले भने, ‘याे काम केटी पक्षका दाइले गराएकाे भनी किटानी दिने तयारी गरेका छाैँ ।’

तीन तलाकाे घर जलेर पूरै नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन् ।

‘घर आगलागी भएकाे कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हाैँ,’ उनले भने, ‘क्षतिकाे विवरण निकाल्दैछाैँ । घटनाका अनुसन्धान भइरहेकाे।’source-samakhabar.com

प्रतिक्रिया दिनुहोस्