थोरै नम्बर ल्याएको विद्यार्थीमाथि कुटपिट

| २०८० असोज १३ गते १६: ०२ मा प्रकाशित

जानु पाण्डे,कपिलवस्तु।
असोज १३ गते - कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छन्। 

विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाइ आन्तरिक परीक्षा सञ्चालन गरिएको थियो । प्रतिस्पर्धामा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट कुटाइ खाएको पीडित बालिकाले बताउनुभयो । 

कुटपिटले विद्यार्थीको ढाडमा चोट लागेको छ । सिकाइ सुधारका लागि शारीरिक पीडा हुनेगरी कुटपिट हुनु गतल भएको पीडित बालिकाका अभिभावक नोखइ थारुले बताउनुभयो ।

विद्यालयले सजाय दिएपछि अभिभावकले विद्यालयमा पुगी ध्यानाकर्षण गराएका छन् । विद्यालयमा हुने शारीरिक र मानसिक सजाय नदिन अभिभावकले आग्रह गरेका छन् । यसैगरी कपिलवस्तु नगरपालिकाको सनसाइन आवासीय माविमा होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नभएपछि ११ वर्षीय बालिका शिक्षकबाट कुटिएकी छन् । 

कम्प्युटर विषयका शिक्षकले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्रालाई पिट्दा देब्रे र दाहिने पाखुरा र हातमा नीलडाम बसेको छ । पीडित बालिकाले होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कक्षा कोठामै कुटेको बताउनुभयो । घटनाबारे अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्