खुला ठाँउमा दिसा पिसाब गर्ने १६ जना पक्राउ

| २०८१ बैशाख ४ गते २१: ३३ मा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला ठाउँमा दिसा पिसाब गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको छ।

पटक-पटक सूचना जारी गरे पनि अटेर गरेपछि गाउँपालिका र प्रहरीसहितको टोलीले मंगलबार बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला शौच गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो। सोही अनुगमनका क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वटा वडामा अनुगमन गरेको थियो। प्रहरी सहितको अनुगमन टोली देखेपछि खुला शौच गर्ने समूहको भागाभाग भएको थियो।

प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १, २, ५, ६ र ७ का स्थानीय रहेको वास संयोजक बेल्बासेले जानकारी दिए। नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक छन्। उनीहरू आफन्तकोमा आएका थिए। नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराई वडाध्यक्षको जिम्मा लगाइएको थियो।

पालिकाले वैशाखदेखि पूर्ण सरसफाइ कार्यान्वयन गरी खुला दिसा मुक्त बनाउन अभियानको रूपमा अगाडी सारेका थियो।

तीन महिनासम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाखदेखि अटेरी गर्नेलाई कारबाही गर्ने योजना अगाडि सारेको थियो। हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ।

पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ। २०७८ सालमै जिल्ला खुल दिसामुक्त घोषणा भए पनि अझै सम्म पनि जिल्लाका अधिकांश पालिकामा खुला ठाउँमा दिसा पिसाब गर्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्