गुल्मीको धुर्कोटमा मापसे गरी आफ्नै घरमा आगजनी,इस्मामा फेरि घरगोठ जले

| २०८१ बैशाख १० गते १७: ५१ मा प्रकाशित

गुल्मीको इस्मा गाउँपालिकामा आगलागीले ठूलो क्षति भएको दुई दिन मात्रै भयो। तर, आइतबार फेरि इस्मा– ६ बुल्मका मोटे कुमालको घरमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ। 

नजिकै रहेको सोलार प्यानल पड्केर आगलागी हुँदा घरगोठमा रहेका खाद्यान्न, लत्ताकपडा, काठदाउरा र भाँडाकुँडासहित एउटा बाख्रा जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए। स्थानीय नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

यता, धुर्कोट गाउँपालिका मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। धुर्कोट– ६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो। अत्यधिक मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाएका परियारले छिमेकीलाई समेत धम्की दिएका थिए। 

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरी र प्रशासनको समन्वयमा रेखबहादुरकी श्रीमती सीता परियारलाई राहत उपलब्ध गराइएको छ। आगजनी गर्ने परियारलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। टोपलाल अर्याल,नयाँ पत्रीका

प्रतिक्रिया दिनुहोस्