श्रमको मूल्य तिरेन सन्धिखर्क नगरपालिकाले :पत्रकार अर्जुन भुसाल

| २०७८ असार १५ गते २१: ०९ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। कार्यव्यस्ताका बावजुत पनि सन्धिखर्क नगरपालिका कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र तत्कालिन पत्रकार महासंघका सचिव (हाल निवर्तमान) सुर्यप्रसाद भुसालको विशेष अनुरोधमा सन्धिखर्क नगरपालिका कार्यालयले प्रकाशन गर्न लागेको त्रैमासिक म्याग्जिन पत्रिका ‘सन्धिखर्क सन्देश’ को समाचार सङ्कलन, लेखन, सम्पादन र  फोटो संकलन गरि समाचारतर्फको सम्पूर्ण जिम्मेवारी लिएको थिएँ । नगरबासी भएकोले नगरलाई योगदान गर्नु आफ्नो पनि कर्तव्य सम्झेर उहाँहरुको आग्रह नकार्न सकिनँ ।
 
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मेयर, उपमेयरसँग सल्लाह गरेरै मलाई कामको जिम्मा प्रदान गर्नुभएको थियो । पहिलो अङ्क प्रकाशित भयो । प्रमुख प्रशासकीय अधिकृत सापकोटा छँदै आवश्यक पक्रिया पूरा गरेर भुक्तानी लिन जाँदा लेखा अधिकृत नवराज गौतमले ‘आफ्नो बायोडाटा पनि राख्नुहोस’ भन्दै भुक्तानी दिन आनाकानी गर्नुभएको थियो । 

‘कार्यालय प्रमुखको अनुरोधमा गरेको हुँ, मैले अल्झन व्यहोर्न  काम गरेको होइन’ भनेपछि उहाँले भुक्तानी दिनुभएको थियो । त्यतिबेलै मलाई दिक्क लागेको थियो । पहिलो अङ्कको सम्पूर्ण काम वापत १५ हजार रुपैयाँ पाएको हुँ । बुटवलमा एकजना पत्रकार साथीलाई दिनुपर्ने ५ हजार सहित २० हजार मै आफै बुझेको हुँ । कृष्ण सरले दोस्रो अङ्कको तयारी गर्न भनेपछि दोस्रो अङ्कको काम पनि सम्पन्न गरिदिएँ । नगरपालिका कार्यालयले दोस्रो अङकको भुक्तानी दिन मानिरहेको छैन । श्रमको मूल्य तिर्न आनाकानी गरिरहेको छ । 

नगरपालिकाले कार्यादेश चाहियो भन्छ । नगरपालिका कार्यालय आफै प्रकाशक भएर सम्पूर्ण नगरकै गतिविधि , नगरकै वजेट तथा कार्यक्रम, नगर कार्यालयकै विभिन्न सन्देशमूलक सूचना राखेर प्रकाशन गरेको पत्रिकामा काम गरेको ज्याला पाउन कार्यादेश चाहिन्छ, चाहिदैन, त्यो उसैले जानोस । यदि चाहिन्थ्यो भने पनि कार्यादेश बिनै किन काममा लगाएको ? यो प्रश्नको उत्तर नगरपालिका कार्यालय आफै खोजोस । 

अहिलेका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले पूर्व प्रमुख  प्रशासकीय अधिकृतसँग गएर कार्यादेश बनाएर ल्याउनुहोस, म भुक्तानी दिन्छु भन्ने जवाफ दिनुभएको छ । यो कस्तो खालको जवाफ हो ? अब म पूर्व हाकिम खोज्न कहाँ जाउँ ? हाकिम सरुवा भएपनि मेयर, उपमेयर ज्यू कार्यालयमै हुनुहुन्छ त ?  नगरपालिका कार्यालयले आफै  बोलाएर काम गरिदिन पर्यो भनेर आग्रह गर्ने, अहिले ज्याला माग्दा सजाय दिने, यो कस्तो खालको प्रवृति हो ?  

सुन्दै छु हाकिमले पत्रिकाको जिम्मा आफ्नो मान्छेलाई दिएको  भनेर कता, कता उजुरी सम्म गर्न भ्याएका छन् रे । उजुरी कस्ले गर्यो, पत्रिकाको बारेमा के, कति बुझेर गर्यो, त्यो मैले बुझ्न चाहेको छैन । मलाई नगरपालिकाको काम गर्ने कुनै इच्छा  थिएन, नगरपालिका कार्यालयसँग मेरो कुनै साइनो छैन । अरु साथीहरुले इच्छा नदेखाएर वा नभ्याएर मलाई खोज्ने स्थिति सिर्जना भएको हो । 

कसैलाई याे विषय सानाे  लाग्ला त कसैलाई ठूलाे  तर मैले अाफ्नै नगरपालिकाबाट खेपेकाे सास्ती र अन्याय उजागर गरेकाे हुँ । सामान्य नागरिकले कस्ताे सेवा पाए हाेलान भनेर अनुमान गर्नुपर्नेबेला अायाे । विषय जे जस्ताे  भएपनि प्रवृत्तिलाई प्रकट गर्न खाजिएकाे हाे । अहिलेलाई यत्ति, अरू कुरा गर्दै राखाैंला ।

प्रतिक्रिया दिनुहोस्