अर्घाखाँचीका बञ्जाडे तरकारी खेतीबाटै करोडौँका मालिक

| २०८० जेठ ४ गते १६: ०६ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाउनुभएको छ ।

लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गर्नुभएका उहाँले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट रु सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ ।

दैनिक तीन÷चार क्विन्टल टमाटर बेचिरहनुभएका उहाँको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी रु ४० देखि ५०सम्म थोक मूल्यमा टमाटरका साथै रु तरकारी पनि दैनिक रु १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहनुभएको छ ।
बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आउनुभएको छ । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा रु १५÷१६ लाख आम्दानी हुँदै आएको छ । उहाँले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

बञ्जाडेले भन्नुभयो, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।”

पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुनुहुन्छ । सामान्य परिवारका जन्मनुभएका उहाँलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाउनुभएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाउनुभएको हो ।

उहाँले भन्नुभयो, “गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गर्नुभएका उहाँलाई रु पाँच करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ ।

तरकारीबाट वर्षमा रु १० लाख सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाउनुभएका बञ्जाडेले रु तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसक्नुभएको छ । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उहाँले बताउनुभयो ।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ । बारीमा आकाशे पनि सङ्कलन गर्न ५० हजार लिटरको आकाशे पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाउनुभएको छ । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन् ।

वर्षात्को समयमा उहाँले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । “अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो,” पुष्करनाथले भन्नुभयो, “पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पु¥यए ।”

 

प्रतिक्रिया दिनुहोस्