चरम आर्थिक सङ्कटमा पाणिनी क्याम्पस: सात महिनादेखि प्राध्यापकहरू तलबविहीन

| २०८० असोज १२ गते १२: २२ मा प्रकाशित

नेत्रप्रसाद मरासिनी ,अर्घाखाँची । अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पस चरम आर्थिक अभावबीच सञ्चालन भइरहेको छ । आर्थिक आम्दानीको गतिलो स्रोत नहुँदा क्याम्पस आर्थिक सङ्कटमा परेको हो । गत वर्षको फागुन महिना यता प्राध्यापकहरूले पारिश्रमिक पाउन सकेका छैनन् । चरम आर्थिक अभाव भएपछि उनीहरूको तलब दिन नसकेको क्याम्पस प्रशासनले जनाएको छ । सात महिनादेखि प्राध्यापकहरू तलबविहीन भएर अध्यापन गराउन बाध्य छन् ।

सञ्चालक समितिले आर्थिक सङ्कटकाल घोषणा गर्ने अवस्था बनेको छ । आ.व. २०७९/०८० सम्म क्याम्पसको एक करोडको हाराहारी ऋणात्मक रहेको छ ।

बजेट प्राप्त नभएमा आर्थिक वर्ष २०८०/०८१ मा ८५ लाख ९ हजार थप आर्थिक दायित्व सृजना हुने क्याम्पसले अनुमान गरेको छ । निमित्त क्याम्पस प्रमुख लक्ष्मण पोखरेलले आर्थिक अभाव समाधान नभए क्याम्पस सञ्चालनमा समस्या आउने बताउनुभयो । ‘कोभिडका कारण क्याम्पसमा आर्थिक अभाव सुरु भएको हो,उहाँले भन्नुभयो,त्यसयता क्याम्पसको अवस्था सुध्रन सकेको छैन ।’
अर्घाखाँची जिल्लाको भविष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकाले यसमा तीनै तहका सरकारको ध्यान जान जरुरी रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष बिष्णु मुस्कानले बताउनुभयो । आम्दानीको स्रोत व्यवस्थापन गर्न नसके केही वर्षमै ठूलो ऋणको भारसहित क्याम्पस बन्द हुने अवस्थामा पुग्ने सम्भावना रहेको भन्दै उहाँले सबै मिलेर यसको समाधान खोज्नुपर्ने बताउनुभयो ।

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको पढाई हुन्छ । प्राध्यापक र कर्मचारी गरेर ३४ जना कार्यरत छन् । विसं। २०४५ सालमा स्थापना भई जनस्तरबाट सञ्चालन भएको क्याम्पसमा हाल ८८७ विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्