अर्घाखाँचीको सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

| २०८० मंसिर १८ गते ०३: १५ मा प्रकाशित

पूजा केसी ,सन्धिखर्क। अर्घाखाँचीको सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन भएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा चढाएको भेटी (रुपियाँ) सङ्कलन गरेर जिल्लाका चारवटा विद्यालयका आठ जना शिक्षक शिक्षिकालाई तलब उपलब्ध गराउँदै आएको छ ।

२०४० सालमा लित्ते पुजाबाट सुरु भएको सुपा देउराली मन्दिरले सुरुदेखिनै विद्यालय सञ्चालन, पार्टीपौवा निर्माण, गरिबअसहाय तथा प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्दै आएको छ । जाजरकोट र रुकुमपश्चिका भूकम्पपीडित परिवारलाई मन्दिरले एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको छ ।

मन्दिरले आदर्श मावि खाँचीकोटका शिक्षकको तलबका लागि मासिक ६१ हजार सहयोग गर्दै आएको छ । शान्ति निमावि सितगंगामा ६८ हजार, सितापुर आधारभूत विद्यालयलाई २४ हजार र देउराली आधारभूत विद्यालयमा मासिक १२ हजार रुपियाँ सहयोग गर्दै आएको सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सचिव हरि खनालले जानकारी दिनुभयो ।

त्यस्तै, खाँचीकोटमा रहेको स्वास्थ्य चौकीलाई पनि मन्दिरले मािसक १३ हजार रुपियाँ सहयोग गर्दै आएको छ । आदर्श माविको भवन निर्माणमा १४ लाख रुपियाँ सहयोग गरेको छ । समितिका अनुसार मन्दिरमा चाडपर्व र पर्यटनको मौसममा भेटीबाट दैनिक दुई लाख रुपियाँसम्म आम्दानी हुन्छ । समान्य दिनमा भने दैनिक १० हजार रुपियाँसम्म भेटी उठ्ने गर्दछ ।

समितिका कोषाध्यक्ष कृष्ण पुरीले भन्नुभयो, “महिनामा २०/२२ लाख भेटी सङ्कलन हुन्छ । अरु आयस्रोत छैन । त्यही भेटीबाट विद्यालय र सामाजिक काममा सहयोग गर्दै आएको छौं ।” मन्दिरको नाममा हाल ४२ तोला सुन र करिब डेढ करोड रुपियाँ छ । गुठीहरुको व्यवस्था भने छैन । करिब ९० हजार रुपियाँ मन्दिरका चारजना कर्मचारीको तलबमा खर्च हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्