अर्घाखाँचीको सन्धिखर्क नगरपालिका बन्यो ७५३ स्थानीयतहमा उत्कृष्ट

| २०८० फागुन ९ गते १९: ३४ मा प्रकाशित

अर्घाखाँची। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन  कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन गरी मिति २०८०/१०/८ गते प्रकाशित मूल्यांकनको नतिजामा सन्धिखर्क नगरपालिका देशकै प्रथम स्थानीय तह हुन सफल भएको छ ।

 सूचकहरुमा कार्यसम्पादन मूल्याङ्कन  कार्यविधि २०७८ बमोजिम गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगरसभामा पेश गरे/नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक  वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरे/नगरेको, स्थानीय तहले घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्‍जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्‍चित कोषमा जम्मा गरे/नगरेको, स्थानीय तहले आगामी आ.व.को लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्‍क सहितको विवरण चालु आ. व.को पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, स्थानीय तहले  बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, स्थानीय तहको गत आ. व.२०७९/०८० को विनियोजित रकम अनुसार खर्चको अवस्था, गत आर्थिक वर्ष भन्दा अघिल्लो आ. व. को अन्तिम लेखापरिक्षणबाट औल्याएको बेरुजुको अवस्था, म.ले. नि. का.ले प्रयोगमा ल्याएको स्थानीय सञ्‍चित कोष व्यवस्थापन प्रणाली (Subnational Treasury Regulating Application, SUTRA) को प्रयोग स्थानीय तहहरुले पूर्ण रुपमा गरी आवश्‍यक विवरण प्रविष्ट गरे/नगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको, आ व २०७९/८० मा कक्षा १ देखि ८ सम्मको औषत खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट २०७९ मा कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा “डी” वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थीको प्रतिशत. आ.व. २०७९/८० मा चार (४) पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, आ.व. २०७९/८० कुल प्रजनन संख्या मध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात प्रतिशत र आ.व. २०७९/८० मा पूर्ण खोप (विसिजी, पोलियो, डिपिटि, हेपाटाइटिस,दादुरा रुवेला,जापनिज इन्सेफिलाइटिस,टिडि) सुविधा लिएका २४ महिनासम्म उमेर समूहका बालबालिकाको अनुपात प्रतिशत जस्ता सूचकहरु रहेका थिए । 

देशभरका ७५३ तहको मूल्याङ्कन मूल्याङ्कन गर्ने व्यवस्था रहेको सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए जसमा कुल १७ वटा सूचक रहेकोमा ३ वटा सूचक मूल्यांकनमा समावेश नगरी १४ वटा सूचकको कुल ७६ अंकको नतिजा प्रकाशित हुँदा सन्धिखर्क नगरपालिकाको ६१.८१ अंक ल्याई नेपाल कै प्रथम हुन सफल भएको छ । सन्धिखर्क नगरपालिका ले नागरिकलाई केन्द्रमा राखेर प्रभावकारी सेवा प्रवाहको व्यवस्थाको साथै मूल्यांकनमा सबै सूचकहरुमा राम्रो अंक ल्याउन सफल भएको र भने बाँकी ३ वटा सूचकमा सबैलाई ० अंक दिइएको र अंक दिएमा सबैलाई समान अंक आउने कार्यसम्पादन सूचकको मूल्यांकनको फोकल व्यक्ती तथा योजना उपशाखा प्रमुख  दिलिप कुमार के.सीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्