यू-१९ टिमका कप्तान देव भन्छन्- विश्वकपमा छनोट हुने लक्ष्य छ

| २०७९ फागुन १० गते १५: ३१ मा प्रकाशित

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले युएईमा आयोजना हुने एसिया छनोट प्रतियोगितामार्फत् नेपालले विश्वकपमा स्थान बनाउने बताएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार राष्ट्रिय खेलकुद परिषदमा आयोजित बिदाई कार्यक्रमपछि बोल्दै कप्तान खनालले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताए। 

पोखरामा भएको अभ्यास र कीर्तिपुर मैदानमा सिनियर टोलीसँग खेलेका केही अभ्यास खेलबाट टोलीको प्रदर्शन सन्तोषजनक भएको भन्दै कप्तान खनालले टोलीको मुख्य लक्ष्य विश्वकपमा छनोट हुने भएको बताए। 

टोलीको फास्ट बलिङ पक्ष राम्रो भएको उनको भनाइ छ। छनोट प्रतियोगिताका सबै खेल फाइनल जत्तिकै महत्वपूर्ण भएको भन्दै खनालले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने धारणा राखे। कप्तान जिम्मेवारी आफ्नो व्यक्तिगत करिअरका लागि निकै महत्वपूर्ण रहेको र राम्रो नतिजा देशका लागि दिलाउँदै फेरि राष्ट्रिय टोलीमा स्थान बनाउने कप्तान खनालले बताए। 

यस्तै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि सबै खेल महत्वपूर्ण रहेको र सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने योजनामा टोली रहेको बताए। नेपाली टोली सबै पक्षमा सन्तुलित भएको बताउँदै प्रशिक्षक टमाटाले टोलीका तीव्र गतिका बलरले खेलमा हावी हुने विश्वास लिएका छन्। 

मंगलबार नेपाली टोलीले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन टोली स्कटल्याण्डसहित नामिबियासँगको श्रृंखलामा क्लिनस्विप गरेपछि उमेर समूहको टोलीमा पनि मनोबल बढेको बताउँदै प्रशिक्षक टमाटाले करिव दुई महिनाको क्लोज क्याम्पको नतिजा राम्रो आउने विश्वास गरे। 

सनियर टोलीसँगको अनुभव बटुलिसकेका देव खनालको कप्तानीमा टोली  विश्वकपमा छनोट भएर स्वदेश फर्किनेमा आफू ढुक्क भएको प्रशिक्षक टमाटाले बताए। 

एसिया छनोट फागुन १२ देखि युएईमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ। सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यू–१९ मा छनोट हुने हुनेछ। 

छनोटमा नेपालले पहिलो खेल फागुन १२ गते सिंगापुरविरुद्ध खेल्नेछ। दोस्रो खेल नेपालले फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ। फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। टोली बुधवार नै युएई प्रस्थान गर्नेछ।स्रोत - सेतो पाटी 

नेपाली टिम

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द।

प्रतिक्रिया दिनुहोस्