श्रीलंकालाई ६.१ ओभरमा १० विकेटले हराउँदै भारतलाई एसिया कप क्रिकेटको उपाधि

| २०८० भदौ ३१ गते १८: २७ मा प्रकाशित

३१ भदौ, काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो ।

फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।

भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।

पहिलो ओभरमै जसप्रित बुमराहले कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।

सिराजले पहिलो बलमा पथुम निसानका, तेस्रो बलमा सदिरा समराविक्रमा, चौथो बलमा चरिथा असलंका र छैटौं बलमा धनन्जय डा शिल्भालाई आउट गरे । उक्त ओभरमा धनन्जयले सिराजलाई एक चौका प्रहार गरेका थिए ।

खेलको छैटौं ओभरमा सिराजले श्रीलंकाका कप्तान दसुन सनाकालाई बोल्ड गर्दै करियरमै ओडीआई खेलमा पहिलो पाँच विकेट लिए । त्यतिबेलासम्म श्रीलंकाले १२ रन बनाउदा नै ६ विकेट गुमाइसकेको थियो ।

१२औं ओभरमा सिराजले कुल मेन्डिसलाई बोल्ड गरे । त्यसपछि हार्दिक पाण्ड्याले लगातार तीन विकेट लिए । सुपर फोरमा भारतविरुद्ध अलराउण्ड प्रदर्शन गरेका युवा खेलाडी डुनिथ वेलालेजलाई हार्दिकले विकेटकिपर केएल राहुलबाट क्याचआउट गराए ।

त्यसपछि हार्दिकले १६ औं ओभरको पहिलो र दोस्रो बलमा प्रमोद मधुसानर मथिशा पाथिरानालाई आउट गरे ।

यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।स्रोत  - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्