टी ट्वान्टी क्रिकेटमा नेपालका चार दुर्लभ कीर्तिमान

| २०८० असोज १० गते १२: ४० मा प्रकाशित

काठमाडौं । यसै त क्रिकेट कीर्तिमानै कीर्तिमानको खेल हो । एसियन गेम्सको क्रिकेटमा नेपालले चार दुर्लभ कीर्तिमान कायम गरेको छ । 

नेपालले एसियन गेम्सको समूह चरणको पहिलो खेलमा मंगोलियासँग खेल्यो । मंगोलिया त्यो टिम हो, जसले नेपालसँग खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको छ । 

मंगोलिया नेपालका लागि त्यस्तो प्रतिद्धन्दी बनेर चिनिनेछ, जसविरुद्ध नेपालले केही उद्भुत कीर्तिमान कायम राखेको छ । 

नेपालले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा धेरै रनको कीर्तिमान बनाएको छ । नेपालले पहिले ब्याटिङ गर्दै मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । योनै टी ट्वान्टी क्रिकेटमा बनेको सर्वाधिक धेरै रन हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २ सय ७८ रनको सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको थियो । 

यस्तै, नेपालले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान समेत बनाएको छ । ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको थियो । नेपालले खेल २ सय ७३ रनले जितेको थियो । यो नै टी ट्वान्टी क्रिकेटमा सर्वाधिक ठुलो अन्तरको जित हो ।

खेलाडीले समेत मंगोलियाविरुद्ध केही नमेटिने कीर्तिमान कायम गरे । विशेष गरि दिपेन्द्र सिंह ऐरीले ९ बलमा ५० रन पुरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा यो कीर्तिमान कायम गरेका थिए । 

त्यस्तै, कुशल मल्लले समेत टी ट्वान्टी क्रिकेटमा सबैभन्दा चाँडो सतक प्रहार गर्ने विश्व कीर्तिमान कायम गरे । उनले ३४ बलमा यो कीर्तिमान कायम गरेका हुन् । यसअघि साउथ अफ्रिकाका डेभिड मिल्नरले बंगलादेशविरुद्ध ३५ बलमा यो कीर्तिमान आफुसँग राखेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्