फाइनलमा चुक्यो नेपाल, यूएईले जित्यो उपाधि

| २०८० कार्तिक १० गते १७: ०९ मा प्रकाशित

१० कात्तिक, काठमाडौं । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए ।

जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका थिए । दुबैले पहिलो विकेटका लागि ७१ रनको साभेदारी गरेका थिए ।

पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका वासिमले लगातार दुई चौहा हान्दा युएईले पहिलो ओभरमै १७ रन जोड्यो । त्यसपछि युएईले आक्रमक ब्याटिङ गर्दै दोस्रो ओभरमा १० रन जोड्यो भने त्यसपछिको तीन ओभरमा ११–११ रन जोड्यो । युएईले पावर प्लेमा विना क्षति ६७ रन बनाएको थियो ।

नेपालले वासिमलाई दुई पटक आउट गर्ने अवसर पाएको थियो, तर कमजोर फिल्डिङ गर्दा क्याच ड्रप गर्‍यो ।

सातौं ओभरको चौथो बलमा गुल्सन झाले कप्तान वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराउँदै पहिलो विकेट लिए । २२ बलको समना गरेका बासिम ७ चौका र २ छक्का मदतमा ४५ रन बनाएर पभेलियन फर्किए ।

अर्यान्श ३५ रन, आसिफ खान ७ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९४/३ थियो ।

वृत्य अरवीन्दले चौथो विकेटका लागि अलीशान शराफूसँग २६ रनको साझेदारी गरे । शराफू ११ रनमा आउट भए । यएईले थप ७ रन जोड्दा अरवीन्द्रलाई दीपेन्द्र सिंह ऐरीले डाइरेक्ट हिटमार्फत रन आउट गरेका थिए ।

तर बसिल हमिद र अली नासीरले २५ रनको साझेदारी गर्दै यूएईलाई जित नजिक पु¥याए । नसीर ११ रनमा आउट भए, जतिबेला यूएईको स्कोर १५२/६ थियो र ८ बल बाँकी थियो । अभिनाश बोहोराको ओभरको अन्तिम बलमा आयान अफ्जल खानले चौका हानेपछि अन्तिम ६ बलमा ७ रन चाहियो ।

रोहितकुमार पोडेलले करण केसीलाई बल दिए । पहिलो बलमा २ रन खर्चिएका उनले दोस्रो बलमा रन दिएनन् । त्यसपछि एक रन, वाइड र एक रन दिएपछि यूएईलाई अन्तिम २ बलमा मात्र २ रन चाहियो । अन्तिम ओभरको पाँचौं बलमा हमिदले छक्का हान्दै यूएईलाई सिरिजको उपाधि दिलाए ।

नेपालका गुल्सन झा र अभिनाश बोहोराले २/२ विकेट लिए भने कुलश मल्लले १ विकेट लिए । करण केसी सबभन्दा महंगा साबित भए । ३.५ ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए ।

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

भुर्तेलले सर्वाधिक ५० रन बनाए । लोअर अर्डरमा करण केसीले अविजित २३ रन योगदान गरे ।

पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ४३ रनको साझेदारी गर्दै नेपाललाई ठिकठाकको सुरुवात दिलाएका थिए । यसअघि मुलपानी क्रिकेट मैदानमा भएको लिग चरणको चार खेलमा संघर्ष गरेका कुशल भुर्तेलले फाइनलमा भने आक्रमक ब्याटिङ गर्दै छैटौं टी२० आई अर्शधतक बनाए । तर उनी लामो समय क्रिजमा टिकेनन् । उनले अर्धशतक पूरा गरेलगत्तै आउट भए । उनले २९ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ५० रन बनाए ।

भुर्तेल हुनुअघि नै नेपालले दुई विकेट गुमाइसकेको थियो । ओपनर आसिफ शेख ७ र वान डाउनमा आएका कुशल मल्ल १ रनमा आउट भए । दुवैलाई मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात युएईका अफजल खानले आउट गरे ।

पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका उनले उनले छैटौं बलमा शेखलाई बोल्ड गरे । आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए ।

कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८/३ थियो । तीन विकेट गएपछि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । यो जोडीले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै आउट भए ।

युएईका अली नासेरले १३औं ओभरको पहिलो बलमा रोहितलाई आउट गर्दै साझेदारी तोडे । रोहितले १७ बलमा १८ रन बनाए । चौथो बलमा उनले ऐरीलाई बोल्ड गरे । १५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेका ऐरी २० रनमा पभेलियन फर्किएका हुन् ।

त्यसपछि नेपालले थप ३ विकेट गुमायो । सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसीले लोअर अर्डरमा तीन बाउन्ड्री हान्दै स्कोर उकासेका थिए । उनले १९औं ओभरमा १७ रन जोडेका थिए । १७ बलको सामना गरेका करण २ चौका र १ छक्का मदतमा अविजित २३ रन बनाए ।

यूएईका आयान खानले ४ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । अली नासीर र जाहुर खानले २–२ विकेट लिए । ४ ओभरमा जहुरले २६ र नासीरले ३६ रन खर्चिएका थिए ।

जुनैद सिद्दिकीको नामम १ विकेट रह्यो । युएईका मुहम्मद जवादुल्लाह मात्र विकेटविहीन रहे ।

टससँगै खेल पनि हार्‍यो

१३ कात्तिकदेखि काठमाडौंमै सुरु टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजित त्रिकोणात्मक श्रृखलामा नेपाल र यूएईसँगै हङकङले पनि खेलेको थियो ।

नेपालले लिग चरणको चार वटै खेल जित्यो । सबैमा टस जितेको नेपालले तेस्रो खेलमा बाहेक सबै पहिले फिल्डिङ रोजेको थियो । शुक्रबार फाइनलमा नेपालले टस मात्र गरेन, खेल पनि गुमायो ।

यूएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो । अन्तिम खेलमा हङकङसँग पराजित भएपनि नेट रनरेटमा आधारमा फाइनलमा नेपालसँग भेट पक्का गरेको थियो ।

लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो भने फाइनल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा । करिब १० हजार घरेलु समर्थकमाझ नेपाललाई ६ विकेटले पराजित गर्दै युएईले उपाधि जित्यो ।स्रोत - अनलाईन खबर 

प्रतिक्रिया दिनुहोस्