भारतले श्रीलंकालाई दियो ३५८ रनको विशाल लक्ष्य

| २०८० कार्तिक १६ गते १८: ४८ मा प्रकाशित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिहीबारको खेलमा भारतले श्रीलंकालाई जितका लागि तीन सय ५८ रनको विशाल लक्ष्य दिएको छ । 

मुम्बईस्थित वानखेड स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ५७ रन बनायो । 

पहिलो विकेट सस्तैमा गुमाएको भारतका लागि ओपनर ब्याट्सम्यान शुभमन गिल र तेस्रो नम्बरका ब्याट्सम्यान विराट कोहलीले उत्कृष्ट साझेदारी गरे । भारतले टोलीको कुल स्कोर केवल चार रन रहँदा कप्तान रोहित शर्मालाई गुमाएको थियो ।

रोहित चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि शुभमन र विराटले टोलीको स्कोरलाई एक सय ९३ रनको सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । तर, शुभमन र विराट दुबैले सतक भने पुरा गर्न सकेनन् । 

शुभमन ९२ रन बनाउँदै आउट भए । उनले ९२ बलको सामना गरी दुई छक्का र ११ चौका हिर्काएका थिए । त्यसलगत्तै विराट पनि ८८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ९४ बलको सामना गरी ११ वटा चौका प्रहार गरेका थिए ।

तर, विराट महान क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गर्नबाट भने चुके । उनले सतक बनाउन सकेको भए उनले सचिनको कीर्तिमानसँग बराबरी गर्ने थिए । एकदिवसीय क्रिकेटमा सचिनले ४९ वटा सतक बनाएका छन् । 

विराटले हालसम्म एकदिवसीय क्रिकेटमा ४८ वटा सतक प्रहार गरेका छन् । अब विराटले सचिनको कीर्तिमानसँग बराबरी गर्न कम्तिमा पनि आइतबार हुने दक्षिण अफ्रिकाविरुद्धको खेलसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । 

भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि ८२ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको ऐयरले केवल ५६ बलको सामना गरी ६ छक्का र तीनवटा चौका हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान केएल राहुलले २१ रन बनाए । सूर्यकुमार यादब १२ रनमा आउट भए । 

यसैगरी रविन्द्र जडेजाले टोलीको खातामा ३५ रन थपे । श्रीलंकाली टोलीका बलर दिल्सान मदुसानका सबैभन्दा प्रभावकारी सिद्ध भए । भारतीय ब्याट्सम्यानका लागि खतरा सावित भएका उनी एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा ८० रन खर्चिए ।

 

प्रतिक्रिया दिनुहोस्