हेलिकोप्टर दुर्घटनामा घाइते भारतीय रक्षा प्रमुख विपिन रावतको निधन

| २०७८ मंसिर २२ गते १८: ४० मा प्रकाशित

तामिलनाडू। भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ।

यससँगै उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ। दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ। 

तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा रावत, उनकी पत्नी र अन्य सैन्य अधिकारीको निधन भएको हो। यो दुर्घटनामा परेका एकजना सैन्य अधिकारीको उपचार जारी छ। 

उक्त हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो। त्यहीँ उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ। भारतीय सेनाको एमआई-१७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो। 

घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो। यसमा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो। 

यो हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख जनरल रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। 

समाचार अनुसार अहिलेसम्म १४ मध्ये १३ जनाको ज्यान गएको हो। 

दुर्घटनाको करिब एक घण्टापछि  जनरल रावतलाई वेलिङ्टनको सैनिक अस्पतालमा लगिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको जानकारी लिएका छन्। 

रक्षा मन्त्री राजनाथ सिंह दुर्घटनापछि रावतका परिवारलाई भेटेका छन्। त्यहाँबाट उनी कुन्नूर जाँदैछन्। 

जनरल विपिन रावत भारतका पहिलो रक्षा प्रमुख हुन्। उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए। 

रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर  २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए।nepalkhabar.com

प्रतिक्रिया दिनुहोस्