लाखौंको सुन भैसीले खाइदिएपछि पेट चिरेर निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

| २०८० असोज १५ गते १४: २४ मा प्रकाशित

काठमाडौं । महाराष्ट्रको वाशिम जिल्लाबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एउटा भैंसीले रु १ लाख २५ हजारको मङ्गलसूत्र निल्यो । चिकित्सकले शल्यक्रिया गरी भैंसीको पेटमा चिरेपछि मात्रै साढे दुई तोलाको मङ्गलसूत्र निकाले । यो शल्यक्रियामा भैंसीलाई ६५ वटा टाँका लगाइएको थियो ।

यो जिल्लाको सरसी गाउँको घटना हो । किसान रामहरीकी श्रीमतीले नुहाउन जाँदा भटमास र बदामको बोक्रा भएको भाँडोमा मंगलसूत्र लुकाएकी थिइन् । नुहाईसकेपछि उनले त्यही बोक्रा भएको भाँडोलाई भैंसीको अगाडि खानका लागि राखिन् र घरायसी काम गर्न थालिन् ।

डेढ–दुई घन्टापछि उनको घाँटीमा मङ्गलसूत्र नभएको थाहा भयो । धेरै बेर खोजेपछि मङ्गलसूत्र राखेको याद आयो । उनी दौडेर भैँसी भएको ठाउँमा पुगिन् । उनले सबै भैंसीले खाएको र भाँडो खाली भएको देखिन् । उनले तुरुन्तै श्रीमानलाई यो कुरा सुनाइन् ।

कृषक रामहरि भोयरले वाशिमका भेटेरिनरी अधिकृत बालासाहेब काउण्डानेलाई फोनमा यसबारे भने । डाक्टरले भैंसी वाशिम ल्याउन भने ।

किसान रामहरि आफ्नो भैँसी लिएर वाशिमको पशु कार्यालय पुगे । डाक्टरले मेटल डिटेक्टरबाट भैंसीको पेट जाँच गर्दा पेटमा केही रहेको पाइएको थियो । भोलिपल्ट भैंसीको पेटको शल्यक्रिया गरिएको थियो ।

६५ वटा टाँकाको यो शल्यक्रिया दुईदेखि साढे दुई घण्टासम्म चलेको भेटेरिनरी अधिकृत डा बालासाहेब काउण्डानेले बताए । त्यसपछि भैंसीको पेटबाट सुनको मङ्गलसूत्र निकालियो । घाँस वा अन्य केही खुवाउँदा केही सावधानी अपनाउन सबै पशुपालकलाई चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्