लेनिन शताब्दी स्मृती दिवसको अवसरमा दिल्लीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० माघ ८ गते १९: ०५ मा प्रकाशित

नयी दिल्ली । लेनिन शताब्दी स्मृती दिवसको अवसरमा भारतको राजधानी नयी दिल्लीमा ‘सामाजिक रुपान्तरणमा लेनिनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा भारतका विभिन्न वामपन्थी शक्तिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठनको तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्नुभयो । अवधारणा पत्र प्रस्तुत गर्दै सभागिहरूबाट उक्त विषयमा खुल्ला छलफलको आव्हान गरिएको थियो ।

कार्यक्रममा आफ्ना विचार राख्दै भाकपा माले (नई सर्वहारा) का शिवमंगल सिद्धान्तकारले ‘हामी असफलताबाट निराश हुनुहुँदैन, जहाँ अवरोध हुन्छ, त्यसलाई तोडने माध्यम वर्गसंघर्ष नै हो ।’ सिद्धान्तकारले अगाडि भने– ‘अहिले भारतमा जुन प्रकारको साम्प्रदायीक महोल छ, त्यो भन्दा पनि खराब हालत रुसको थियो । तर, लेनिनले त्यसलाई तोड्दै सामाजवादी क्रान्ति गर्न सफल भए ।’

अन्तरक्रिया कार्यक्रम सम्पन्न 

त्यस्तै भाकपा माले (क्रान्तिकारी पहल) का विमलले ‘पछिल्लो शाताब्दीको क्रान्ति भयो, रुसको क्रान्तिपछि चीनको क्रान्तिले त्यसलाई निरन्तरता दियो । तर, अहिले ति दुबै देशमा प्रतिक्रान्ति भएको छ । लेनिनको ठोस परिस्थितिको ठोस विष्लेषणको आधारमा कार्यक्रमहरू तय गरेको हुनाले नै रुसमा क्रान्ति सम्पन्न भएको हो ।’ विमलले भन्नुभयो –‘आजको आवश्यकता विविधताको बीचमा एकता गर्दै क्रान्तिकारी, वामपन्थी र प्रगतिशिल शक्तिहरूलाई अगाडि ल्याउनु पर्छ ।’

त्यस्तै समाजवादी लोक मञ्चका स्वदेश सिन्हाले आफ्ना विचार राख्दै ‘अहिले कम्यूनिष्ट आन्दोलनमा दक्षिणपन्थी र उग्रवामपन्थीको खतरा छ । उग्रवामपन्थ उग्रदक्षिणपन्थ तिर जान्छ, त्यो इतिहाँसले प्रमाणित गरेको छ । नेपालमा राजतन्त्रको पक्षमा चलेको आन्दोलनले हामीलाई त्यो कुरा सोंच्न वाध्य बनाएको छ ।’ वहाँले अगाडि भन्नु भयो– ‘अहिले भारतमा वामपन्थी आन्दोलन कम्जोर भएको छ । वामपन्थीहरु राहुल गान्धिसँग आस लगाएका छन् । यहाँसम्मकी शंकराचार्य मन्दिर उद्घाटन कार्यक्रममा नजाँदा सकुन मन्दै खुशी भएका छन् । आजको विषम परिस्थितिमा अन्तर्राष्ट्रिय रुपमा लेनिनको जस्तो नेतृत्व गर्ने प्रभावकारी व्यक्तित्वको अभाव छ ।’

त्यस्तै विद्यार्थी नेता सरिता विसीले ‘लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्तिले महिलाहरुलाई अगाडि आउन ठूलो मदत गर्यो । समाजवादी क्रान्तिपछि कैयौं मुलुकहरुले महिलाहरुलाई मताधिकार लगायत केही अधिकारहरु दिन वाध्य भए । हामी लेनिनलाई अध्ययन गर्दै उनले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प छैन ।’ 

एनडिपिआईका अरुण माझीले ‘उत्पादन प्रणालीसँगै चेतनाको पनि विकास हुन्छ । रुसी क्रान्तिको सय वर्ष भइसकेको छ, क्रान्ति पछि उत्पादन सम्बन्धमा पनि बद्लाव भएको छ । हामीले त्यो बदलावलाई क्रान्तिकारी आन्दोलनमा ढाली क्रान्तिलाई अगाडि बढाउन सकिरहेका छैनौं ।’ वहाँ अगाडि भन्नु भयो – ‘अहिले मजदुरहरु खेतबारीदेखि लिएर उद्योग र आइटी जगतमा समेत कार्यरत छन् । तर, उनीहरुले आफूलाई मजदुर मनिरहेको अवस्था छैन । ति सबैलाई समेटेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । लेनिनको स्मृती दिवसलाई भारतका वामपन्थी शक्तिहरुले विर्सिरहेको अवस्थामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यो अन्तरक्रिया कार्यक्रम आयोजना गरेर यो देखाई दियो कि, मजदुरको कुनै देश हुँदैन, क्रान्तिकारीहरु देशको सिमा भित्र बाँधिनु हुँदैन ।’

त्यस्तै भाकपा माले (रेड स्टारका) प्रतिनिधि क. रिन्जनले ‘लेनिनलाई रुसी क्रान्तिका नेताको रुपमा मात्रै देख्ने गरिन्छ तर, लेनिन रुसको मात्रै नभएर विश्व कम्यूनिष्ट आन्दोलनका नेता हुन् । कैयौंले माक्र्सको निधन पछि माक्र्सवाद पुरानो भयो भन्दै वर्ग समन्वयको बाटो पछाई रहेका छन् तर, लेनिनले वर्ग संघर्षलाई अगाडि बढाउँदै समाजवादी क्रान्ति सफल गरि व्यवहारमा देखाई दिए ।’

त्यस्तै कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चबाट प्रयागराज भट्ट, अभियान्ता मदन भारती, शुशिल पाण्डे, प्रेम आचार्य र विन बहादुर केसीले पनि आ–आफ्ना धारणाहरु राख्नुभएको थियो ।

कार्यक्रममा उठेका विषयहरुप्रति प्रष्ट्याउँदै प्रमुख अतिथि ठाकुर खनालले ‘नाम राख्दैमा कोही समाजवादी हुँदैन, त्यसको लागि क्रान्तिकारी सिद्धान्त तथा वर्गसंघर्षको माध्यमबाट नै क्रान्ति सम्भव हुन्छ । आज कतिपय शक्तिहरुले नेपालमा पूँजिवादी क्रान्ति भएको भनिरहेका छन् । उनीहरु वर्तमान अवस्थाबाटै समाजवादको विकासको कुरा गरिरहेका छन् तर, नेपाल अहिले पनि अर्धसामान्ती र अर्धऔपनिवेशिक अवस्थामा छ । नयाँ जनवादी क्रान्ति विना समाजवादमा जान सकिने अवस्था छैन ।’

खनालले अगाडि भन्नु भयो– ‘विश्व कम्यूनिष्ट आन्दोलन र स्वयं नेपालको कम्यूनिष्ट आन्दोलन पनि विभिन्न उतार चढावबाट गुज्रिरहेको छ । क्रान्ति सरल रेखबाट होइन्, बांगोटिंगो बाटोबाट भए पनि अगाडि बढ्छ । कम्युनिष्ट आन्दोलनमा देखापरेको विखराव उपरितौरबाट जे जस्तो देखिएता पनि मुख्य रुपबाट साम्राज्यवाद, पूँजिवादी, हस्तक्षेपको परिणाम नै हो । क्रान्ति रोक्न क्रान्तिकारी आन्दोलनलाई दिशा विहिन बनाउन पार्टी भित्र घुसपैठ गरि पार्टीलाई नै सैद्धान्तिक विचलनमा ल्याउने नभए क्रान्तिकारी पार्टीलाई तोडफोड गरि विखरावको अवस्थामा ल्याई दिन्छन् । अहिले नेपाली समाजमा रहेको न्यूँन पूँजिवादी चिन्तन पनि क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन अवरोधक भएको छ ।’

‘एकिकृत आन्दोलन पार्टी नेपाली जनताको चाहना हो । चाहना र यथार्थमा फरक हुन्छ । यथार्थमा भन्ने हो भने, नेपालका वामपन्थीहरुका बीचमा कैयौं समुहहरुसँग रणनैतिक सिद्धान्तमा समान्ता देखिन्छ तर, कार्यनैतिक सवालमा भने धेरै मतभिन्नताहरु छन् ।’ खनालले भन्नु भयो– ‘कार्यनैतिक मतभिन्नताका कारणले गर्दा आन्दोलनमा गत्यवरोध पैदा हुने गरेको छ । रणनैतिक उदेश्यका लागि कार्यनीतिले महत्वपूर्ण भूमिका खेल्दछ । कार्यनीति सहि भएन भने, रणनैतिक सिद्धान्तले मात्र हुँदैन । नेपालको वाम आन्दोलनमा मालेमा पक्षपातिहरु एकठाउँमा आउन नसक्नुको मुख्य कारण पनि यहि हो ।’

पार्टी एकता सुन्नमा राम्रो सुनियता पनि, पार्टी एकता के को लागि ? त्यसले महत्व राख्दछ । यदि क्रान्तिकारी आन्दोलन अगाडि बढाउने हो भने, कार्यगत एकता गर्दै तत्काल आइपरेका समस्याहरुमा संयुक्त संघर्ष अगाडि बढाउनु पर्ने आवश्यकता छ । आज देश प्रतिगमन तिर गइरहेको छ, यो अवस्थामा प्रतिगामी तत्वहरुका विरुद्ध संघर्ष गर्दै जनतामा क्रान्तिकारी चेतनाको विकास गर्नुको विकल्प छैन । तर, कैयौं समुहहरु रणनीतिक रुपमा ठिक भएता पनि कार्यनीतिको सवालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट प्रतिगमनलाई सेवा पुर्यारहेका छन् । यो तितो यथार्थ हो । 

हामी लेनिनको स्मृती दिवसको अवसरमा लेनिनलाई संझदै लेनिनले देखाएको बाटो अनुशासित क्रान्तिकारी पार्टी विना क्रान्ति सम्भव हुँदैन । पार्टी अनुशासन सबैले अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । लेनिनलाई अध्ययन मात्रै होइन, व्यवहारमा उतार्न आ–आफ्ना विषयहरु आ–आफ्ना समितिहरुमा राख्ने र निर्देशित कार्यक्रमलाई उत्सुकताका साथ अगाडि बढाउने लेनिनवादी संगठामत्क पद्धती जनवादी केन्द्रीयतालाई अपनाउन जरुरी छ ।

कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष कपिल खनालले, स्वागत केन्द्रीय सचिव त्रिभुवन भट्टराई र सञ्चालन केन्द्रीय सदस्य धनवीर पुन मगरले गर्नुभएको थियो । समाजवादी व्यवस्थालाई व्यवहारमा लागु गर्ने महान नेता लेनिन र जनवादी क्रान्तिमा साहदत्त प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौन श्रद्धाञ्जली पछि कलाकारहरुले श्रद्धाञ्जली गित प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्