रफाहामा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृ'त्यु

| २०८० माघ २८ गते १७: २९ मा प्रकाशित

गाजा । दक्षिणी गाजा पट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ । घटनामा दर्जनौं अन्य घाइते भएका छन् । बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका बताइएको छ । 

रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, “रफाहमा हालैका घण्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक विभत्स आक्रमणमा विस्थापित गाजाबासी बसिरहेको एक घर निशानामा परेको छ ।” 

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी सरकारी सञ्चार माध्यम वाफाले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन् ।  गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए । 

इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको सङ्ख्या बढेको हो ।  रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसङ्घका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहर खाली कृषि भूमि, विद्यालय र सडक किनारमा टेन्टले भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्