इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार

| २०८१ जेठ ६ गते २१: ३६ मा प्रकाशित

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले हार्ड ल्यान्डिङ गर्नुपरेको हो । 

इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । तर मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ ।  बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।  यो पहाडी र जंगलले भरिएको क्षेत्रमा भिजिबिलिटी पाँच मिटरसम्म मात्रै रहेको छ । 

हेलिकप्टरले हार्ड ल्यान्डिङ गरेको क्षेत्र ताब्रिज सहरबाट पचास किलोमिटर टाढा भार्जेकन सहर नजिक छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रईसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज सहरतर्फ जाँदै थिए ।

राष्ट्रपति इब्राहिम रईसीलाई इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको नजिक मानिन्छन् । सन् २०२१ मा उनले राष्ट्रपति चुनाव जितेका थिए । 

चुनावी प्रचारका क्रममा राईसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक सङ्कटसँग जुध्न आफैँलाई उत्तम विकल्पको रूपमा प्रचार गरेका थिए । इरानी न्यायपालिकाका प्रमुख रहेका रईसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ ।

रईसीको जन्म सन् १९६० मा इरानको दोस्रो ठुलो सहर मशादमा भएको थियो। यस सहरमा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ।

प्रतिक्रिया दिनुहोस्