अर्घाखाँचीबाट प्रतिनिधिसभा चुनाव लड्दै अधिवक्ता पाण्डेय

| २०७९ भदौ २५ गते १५: ०० मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। निर्वाचनको माहोल तातिरहेको छ । पुराना राजनीतिक दल र पुरानै नेताहरूबाट वाक्क भएर युवाहरूले राजनीतिमा रुची बढाईरहेकाले यसपटक चुनावको फरक माहोल बन्दै गएको छ । युवा र शिक्षित वर्गले राजनीतिप्रति चासो बढाएका छन् ।

देशभर नयाँ र युवा अनुहारले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेर चुनावमा होमिएको बेला अर्घाखाँचीका ३२ वर्षीय एक युवाले पनि निर्वाचन लड्ने तयारी गरेका छन् । मुख्य दलहरूले पुरानै नेताहरूलाई चुनावमा अगाडी सारेका छन् । पटकपटक अवसर पाएका दलका नेताहरूप्रति मतदाताको रुची नभएका बेला उनले स्वतन्त्रबाट चुनाव लड्ने भएका हुन् ।

अर्घाखाँची जिल्लाबाट सुरू गरिएको चर्चित अभियान ‘जोडिनुस जिल्लासङ्ग’का अभियन्ता तेजेन्द्र पाण्डेय अर्घाखाँचीबाट चुनाब लड्ने भएका छन् । जिल्लामा एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट निर्वाचन लड्न लागेका उनी युवाहरूको परामर्शमा चुनाव लड्न लागेका हुन् ।
मिडिया र कानुनसँगै कलाकारिता र सामाजिक कार्यहरुमा समेत सक्रिय रहेका अधिवक्ता पाण्डेय स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा चुनाब लड्ने  जानकारी प्राप्त भएको छ ।

सञ्चारकर्मी समेत रहेका पाण्डेयले जिल्लामा विभिन्न अभियानहरू संचालन गर्दै आएका छन् भने उनको टिमले केही वर्ष अघि देखि जोडिनुस जिल्लासङ्ग भन्ने अभियान संचालन गर्दै आएको छ । यस अभियान अन्तर्गत अर्घाखाँचीबाट जिल्ला बाहिर रहने व्यक्तिहरूलाई जिल्लासँग जोड्ने विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।

जिल्लामा मेला-महोत्सव, जनस्वास्थ्यका विभिन्न कार्यक्रम, लोकसेवा आयोगका कक्षाहरु, विद्यार्थी क्षमता अभिवृद्धि जस्ता काम गरिरहेका उनी बालमनोविज्ञ समेत हुन् । अधिवक्ता पाण्डेले त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञानबारे अध्ययन समेत गरिरहेका छन्।

हाल छत्रदेव टेलिभिजन, मेगा टेलिभिजन, अर्घाखाँची बुलेटिन लगायतका मिडियाहरुमा आबद्ध रहेका उनले केही वर्ष अर्घाखाँची टेलिभिजनको प्रमुख भएर काम गरेका थिए । पहिले नेपाली कांग्रेस निकट रहेर काम गरेका उनले केहि अगाडी सम्पन्न निर्वाचनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

उनी काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको निर्वाचनमा निर्वाचन अधिकृत पनि थिए। तर अधिवक्ता पाण्डेयले भने आगामी निर्वाचनमा उम्मेदवारी दिने बिषयमा औपचारिक घोषणा नगरेपनि घोषणाको तयारी गरिरहेका छन् ।

जिल्लाका स्थानीय तहहरूमा पुगेर युवाहरूसँग परामर्श गरेपछि उनले निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।स्रोत - हिमाल पोष्ट 

प्रतिक्रिया दिनुहोस्