ठुला ठान्ने नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा मुलुकको राष्ट्रियता कठिन मोडमा पुग्यो: खत्री

| २०८० सावन १९ गते २२: २१ मा प्रकाशित

गोपालप्रसाद भट्टराई,अर्घाखाँची। राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर खत्रीले मुलुकको राष्ट्रियता अत्यन्तै कठिन मोडमा पुगेको बताउनुभएको छ । देशभित्रका ठुला भनाउँदा दल भ्रष्टाचारमा लिप्त हुँदा वैदेशिक हस्तक्षेप बढेर गएका कारण राष्ट्रियता कठिन मोडमा पुगेको उहाँको ठम्याइ छ । 

पार्टीले संचालन गरेको ऐतिहासिक तीन अभियान अन्तरगत बिहिवार अर्घाखाँचीको भुमिकास्थान नगरसमितिले पोखेडाँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजमो प्रदेश अध्यक्ष खत्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो । भारतको एकतर्फि हस्तक्षेपसंगै नेपालमा अमेरिकि रबाफ बढ्दा समेत सरकार र सत्तासिन दललाई उनिहरुका बिरुद्ध बोल्ने शाहस र फुर्सद नभएको उहाँको आरोप छ । 

एमसिसि, एसपिपि जस्ता कार्यक्रमको माध्यमबाट नेपालमा गतिविधि बढाएको अमेरिकाले आफ्नो साम्राज्य जमाउन रवि लामिछानेलाई प्रयोग  गरि स्वतन्त्र नामको पार्टी संचालन गरेको पुष्टी भइसकेको र यसका तथ्यहरु अझै  खुल्दै जाने उहाँको दाबी छ ।

नेपालको सुनकाण्ड १ सय किलोमा मात्रै सिमित नभएको जिकिर गर्दै प्रदेश अध्यक्ष खत्रीले १८ सय किलो सुन आएको दाबी गर्नुभएको छ । “१ सय किलो त देखाइएको मात्रै हो, “त्योपनि अन्तराष्ट्रिय इन्टरपोलमा सुचना परेपछि बाध्यताले १ सय किलो देखाइएको छ ” उहाँले भन्नुभयो, “१७ सय किलो सुनलाई गायब बनाइसकेका छन् ।” सत्तारुढ माओवादीका नेताहरु सुनकाण्डमा मुछिएपछि यसलाई कसरी लुकाउने र नेताहरुलाई कसरी जोगाउने भनेर माओवादीले काठमाडौंमा कुम्भमेला सुरु गरेको प्रदेश अध्यक्ष खत्रीले आरोप लगाउनुभएको छ । पछिल्लो सुनकाण्डसंगै कांग्रेस एमाले र माओवादी ३ वटै दललाई भ्रष्टाचार क्षेत्र तथा भाग पुगेको भन्दै अध्यक्ष खत्रीले व्यङ्ग समेत गर्नुभएको छ । 

 भुमिकास्थानका १० वटै वडाबाट अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको भेलामा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,केन्द्रिय सदस्यद्धय सागर के.सी., झविलाल थापा, अनेमसंघ महासचिव सकुन्तला राना, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के.सी.,सचिव बाबुराम पन्थी लगायतले सम्बोधन गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै उहाँहरुले एकातिर प्रतिगामी र अर्कातिर साम्राज्यवादी खतरा कायम रहेकोले दुबै शक्ति विरुद्ध लड्नुपर्नेमा जोड दिनुभएको छ । 
 टेक बहादुर थापाको अध्यक्षता,खड्क बहादुर थापाको स्वागत मन्तव्य र गोपाल पौडेलको संचालनमा सम्पन्न भेलाले कम्युनिष्ट आन्दोलन र मुलुकका उपलब्धिलाई रक्षा गर्दै अर्को व्यवस्थाको निम्ती संघर्ष गर्ने गरि संगठनलाई अगाडि बढाउने संकल्प गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्