अर्घाखाँचीमा गाउँ पस्यो माओवादी

| २०८० भदौ ११ गते १४: ५७ मा प्रकाशित

लक्ष्मण घिमिरे ,अर्घाखाँची । धरातलबाट उँचाईमा पुगेको नेकपा माओवादी केन्द्र फेरी धरातलकै बाटोमा फर्किएको छ । जती उँचाईमा उडेपनि पुनः जमिनमा फर्कनु नै पर्छ भनेजस्तो यतीबेला माओवादी संगठन बनाउन गाउँ गाउँमा पुगेको छ ।

तुलनात्मक रुपमा संगठन कमजोर भएपछी देशभर रुपान्तरण अभियान थालेको माओवादीले अर्घाखाँचीमा पनि रुपान्तरण अभियानको नारा बोकेर गाउँ केन्द्रित भएको छ । अहिले पुर्व तयारी स्वरुप गाउँमा कार्यविभाजनको काम गरिरहेको छ । जिल्लास्तरमा, पालिकास्तरमा र वडास्तरमा कार्यविभाजनको काम चलेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र भुसालले जानकारी दिए ।

यही भाद्र १६ गते पुष्प कमल दहाल ‘प्रचण्ड’ ले अनलाईन मार्फत उद्घाटन गरेपछी औपचारिक रुपमा अभियानको थालनी हुनेछ । ७५३ स्थानिय तह तथा ६ हजार ७४३ वडामा एकैसाथ प्रचण्डले अनलाईन मार्फत सम्बोधन गर्नेछन् । ‘विषेश पार्टी सुध्रिढिकरण तथा रुपान्तरण अभियान’ को नारा सहित माओवादी जनताको घरदैलोमा जानेछ ।

अभियानलाई सफल बनाउन नेकपा माओवादी केन्द्रले अर्घाखाँची जिल्ला ईन्चार्जमा बामदेव क्षेत्रीलाई खटाएको छ । क्षेत्रीले जिल्लामा रहेका सबै पालिकाका, वडा तथा टोलटोलमा पुगेर जनताका गुनासा सुन्ने र माओवादी प्रतिको जनताको धारणा बुझ्ने कार्यक्रम रहेको छ । रुपान्तरण अभियान पछी सुधारिएको माओवादी निमार्ण हुने नेता क्षेत्रीले विश्वास लिएका छन् । २०६४ सालको जस्तो माओवादी निमार्ण गरी देश र जनतालाई सुशासन र विकासको प्रत्याभुती दिलाउने उनको भनाई छ ।

माओवादीले जिल्लाका सबै पालिकामा अभियानको जिम्मेवारी तोकेको छ । तिन महिने अभियानमा नौं बुँदे आचार सहिता पनि राखिएको छ । आचार संहिता विपरित केही नगर्ने नेताहरुको भनाई छ । आफुले जिम्मा लिएर काम गरेको वडालाई नमुना बनाउन सबै लागिपर्ने उनिहरुले जिकिर गरे । अभियानको क्रममा जिल्लामा १० हजार भन्दा धेरै पार्टी सदस्य बनाउने, गाउँमा भएको बाँझो जमिनको तथ्यांक एकीन गर्ने त्यस्तै धुर्विकरण र एकीकरणलाई तिव्रता दिने लगायतका लक्ष्य रहेका छन्।

अर्घाखाँचीका छ वटै स्थानिय तहमा पुगेर पहिलो चरणको भेला गरिएको छ । कार्यक्रममा भावी योजना तथा कार्यक्रमका बारे छ्लफल तथा भेटघाट गरिएको छ । यस्तै अब प्रत्येक वडाको बैठक बस्ने छ । १५ गतेसम्म ६१ वटै वडा र सबै तहका बैठक सक्ने कार्यसुची रहेको नेकपा माओवादी केन्द्र अर्घाखाँचीले जनाएको छ ।

पार्टीका प्रदेश सदस्यलाई पालिका अभियानको जिम्मेवारीमा तोकिएको छ । १६ गतेदेखी निरन्तर अभियान अँघी बढ्ने र यसले माओवादीको आन्तरिक संगठन मजबुत बन्ने र देश विकासको मोडल तयार हुने समेत विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्