अर्घाखाँचीमा भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईको सम्पूर्ण तयारी पूरा

| २०८० चैत १४ गते २१: ०८ मा प्रकाशित

अर्घाखाँचीमा भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको छ ।

चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीले जनाएको छ ।

यस वर्षको एसईईको परीक्षामा अर्घाखाँचीबाट २ हजार नौ सय ७२ बिद्यार्थीले परिक्षा दिदैँ छन ।

जसमध्ये सामुदायीक विद्यालयबाट ७७ जना र स‌‌स्थागत विद्यालय बाट ६ जना गरी ८३ विद्यालयका परीक्षार्थी परिक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीका अनुसार जिल्लामा एक हजार ३ सय ९७ छात्र र एक हजार ५ सय ७५ छात्रा परीक्षामा सहभागि हुँदैछन । जसमध्ये २७ छात्र र २७ छात्रा गरी ५४ जना परीक्षार्थीले ग्रेड वृद्धिका लागि परिक्षा दिदैँछन भने प्राविधिकधार तर्फ १ सय ५ जना परीक्षार्थी परिक्षामा सहभागी हुँदैछन् ।

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको छ ।

जिल्लामा परिक्षाका लागि १७ वटा परीक्षाकेन्द्र तोकिएको छ ।

परीक्षा सञ्चालनका लागि १७ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष र १४८ जना निरीक्षक तोकिएको छ भने सहायक कर्मचारी रुपमा ३१ जना र ६० जना कार्यालय सहयोगी खटाइएको छ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरेको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीले जनाएको छ।

यस वर्षदेखि ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्