महिनावारी हुँदा किशोरीहरुलाई चुनौती विषयक वक्तृत्वकला प्रतियोगिता

| २०८१ जेठ १६ गते १९: ४९ मा प्रकाशित

नविन वि.क अर्घाखाँची । “महिनावारी मैत्री समाजका लागि हातेमालो” भन्ने नाराका साथ अन्तराष्ट्रिय महिनावारी दिवस अर्घाखाँचीमा भव्यताका साथ मनाइएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरुको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

महिनावारी हुँदा किशोरीहरुलाई चुनौती विषयक वक्तृत्वकला प्रतियोगितामा सन्धिखकका ११ वटा संस्थागत तथा सामूदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको सहभागीता रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा कार्यक्रम संयोजक विजय वि.कले जानकारी दिएका छन् । उनका अनुसार सहभागी प्रतियोगिहरु मध्ये सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत छात्रा आशिका बन्जाडे प्रथम, जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा विदुषी खड्का द्वितीय र चन्द्र प्रभा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा आकृति न्यौपाने तृतीय भएकी छन् । उनिहरुलाई नगद, प्रमाण–पत्र र डायरी हस्तान्तरण गरि सम्मान गरिएको समेत जानकारी दिए । 

पाठेघरले बनाएको रगतको तह विस्तारै यौतीमार्ग बाहिर निस्कने प्रक्रिया महिनावारी हो । महिनावारी भएपछि बालिकाकोे प्रजनन अंग परिपक्क हुन्छन् । महिनावारी लाज मान्ने विषय नभएर महिनावारी जैविक र प्राकृतिक प्रक्रिया भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दुर्गा न्यौपानेले बताइन् । हर्मोनहरुमा आउने परिवर्तनका कारणले महिनावारी हुने र महिनावारी भएपछि किशोरी आमा बन्न सक्षम भएको संकेत गर्ने पनि बताइन । 

यस्तै स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले पहिलोपटक महिनावारी हुँदा बालिका अत्तिन्छन् त्यसैले परिवारले पहिलेनै यसबारे जानकारी गराउनुपर्ने बताए । महिनावारीको समयमा सरसफाइमा विषेश ध्यान दिनुपर्ने पौडेलको भनाइ छ । “महिनावारीको समयमा ननुहाउदाँ अनि सरसफाइमा ध्यान नदिदाँ पाठेघरमा संक्रमण हुन सक्छ,” उनले भने “महिनावारीको समयमा सरसफाइमा विषेश ध्यान दिन जरुरी हुन्छ ।” 

महिनावारी भएको समयमा अहिले पनि केही स्थानमा छाउगोठमा बस्ने चलन रहेको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव हृदय भुसालले बताएका छन् । वक्तृत्वकला प्रतियोगितामा मुल्याकंन समितिको सदस्य समेत रहेका भुसालले अर्घाखाँचीमा छाउगोठमा बस्ने चलन नभएपनि सुदुरपश्चिममा अहिलेपनि यस्तो चलन रहेको बताउँदै यसबाट बालिकाले भोग्नुपरेको चुनौतीको बारेमा समेत बताएका थिए । उले नेपालमा कयौं प्रतिशत महिला महिनावारीका बेला  खानेपानी तथा सरसफाईबाट समेत बञ्चित हुने गरेका बताएका थिए । 

यस्तै प्रतियोगिताबाट प्रथम हुने सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत छात्रा आशिका बन्जाडेले कयौं छात्रा महिनावारी भएका दिनमा विद्यालय छाडी घरमा बस्ने गरेको बताइन् । विद्यालयमा राम्रो शौचालय नहुँदा, पर्याप्त पानी नहुदाँ र सरसफाइका लागि उचित व्यवस्था नहुँदा छात्राहरु विद्यालय छाडी घर बस्नुपरेको बताइन् । 

हरेक वर्ष मे २८ मा अन्तराष्ट्रिय महिनावारी दिवस मनाइन्छ । पत्येक वर्ष महिनावारी सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको छ । महिनावारी हुँदा किशोरीलाई चुनौति विषयक कार्यक्रमको लागि मुल्यांकन समितिमा पाणिनी बहुमखी क्याम्पसका प्रध्यापक रामलाल भुसाल, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत दुर्गा न्यौपाने, जिल्ला अस्पतालका नर्सिन अधिकृत सुनिता आचार्य र नेपाल पत्रकार महासंघका सहसचिव हृदय भुसाल रहेका थिए ।

कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको समन्वय र भिजिवल इम्प्याक्टको सहकार्यमा भएको हो । कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलको अध्यक्षता, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीको स्वागत मन्तव्य र भिजिवल इम्प्याक्टका प्रतिनिधी सागर परियारको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्