अर्घाखाँची :चिस्यान केन्द्र मा राखेको मध्ये ६३ मेट्रिक टन सुन्तला कुहिए ,करिब ५६ लाख बराबर को घाटा

| २०८० माघ १८ गते २०: १० मा प्रकाशित

माधब पौडेल। अर्घाखाँचीको पाणिनिमा शीतभण्डारमा राखिएका सुन्तला 'रफ हेन्डलिङ र ट्रिटमेन्ट नमिलेका' कारण हरियो र निलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धि राज घिमिरेले जानकारी दिएका छन् ।

पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको घिमिरेले बताए । मुख्यगरी हरिया र निलो ढुसीका कारण सुन्तला नष्ट भएको वरिष्ठ वैज्ञानिक आचार्यको टोलीले स्थलगत अनुसन्धानपछि निष्कर्ष निकालेको घिमिरेको भनाइ छ 
 
भण्डारण गर्दा प्राविधिक त्रुटि रहेको, खुला हातले पञ्जा नलगाइ शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको र जसका कारण अघिल्लावबर्षहरुको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धानपछि पत्ता लागेको छ । सुन्तलालाई पटक-पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नु पर्नेमा सबै पाकेका सुन्तलाहरु टिपेको, हातका कारण बढी ढुसी लागेको निष्कर्ष निकालिएको छ । 

सुन्तला कसरी र किन कुहियो भनेर आइतबार नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक आचार्य, कृषि विकास निर्देशनालय बुटबलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटबलका बागबानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख घिमिरेको टोलीले स्थलगतरुपमा शीतभण्डारणमा पुगेर अनुसन्धान गरेको थियो । 


शीतभण्डारणमा राखेका ६३ मेट्रिक टन सुन्तला कुहिएपछि ९० रुपैयाँप्रति केजीमा सुन्तलको हिसाब गरेपनि कृषकहरुले झण्डै ५६ लाख ७० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । कृषकहरु मान बहादुर श्रेष्ठ, चिरञ्जिवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीय स्तरमा उत्पादन भएको ४५ सय क्यारेट अर्थात ९० टन सुन्तला राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्