आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीका ३ पालिका फेल

| २०८० फागुन १० गते २३: २७ मा प्रकाशित

अर्घाखाँची। आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीका ३ पालिका फेल भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका देशभर मै पहिलाे हुदा ३ स्थानीय तह भने फेल भएका हुन् ।

कार्यसम्पादन मुल्यांकनमा पास हुनका पालिकाले कम्तिमा ४० अंकभार ल्याउनुपर्ने हुन्छ तर ३ पालिकाले भने ४० अंकभार ल्याउन सकेनन् ।

६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका ६१.८१ अंक सहित नेपालमै प्रथम भएकाे छ भने छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौँ हुन सफल भएकाे छ । यस्तै मालारानी गाउँपालिका भने ४१.४१ अंक प्राप्त गरी पास भएकाे छ ।

यता देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा ३३.४६ अंक प्राप्त गरेकाे छ । भूमिकास्थान नगरपालिकाले ३८.०३ र पाणिनि गाउँपालिकाले २८.६७ अंक प्राप्त गरी फेल भएका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्