राजेश हमालको सम्मानमा ‘म राजेश हमाल’ बन्दै, हमाल र आर्यन सिग्देल केमियोमा !

| २०७८ सावन ३२ गते ०४: ४० मा प्रकाशित
हमालको दायाँ बायाँ मुकुन भुषाल र महेश त्रिपाठी

काठमाडौं :  अभिनेताको राजेश हमालको नाम दोस्रो फिल्म बन्ने भएको छ । यसअघि उनकै नाममा ‘राजेश दाइ’ शीर्षकको फिल्म बनेको थियो ।  निर्माता केदार भुषालले उनको योगदानलाई ट्रिब्युट गर्ने गरी फिल्म बनाउन लागेको पुष्टि गरे । फिल्ममा राजेश हमाल स्वयंलाई पनि अतिथि भूमिकामा देखाउने निर्माताको प्रयास छ । तर, निर्मातालाई हमालले बिहीबारसम्ममा निधो दिने जानकारी गराएका छन् ।

‘हामीले उहाँसँग नामको प्रयोगका लागि पनि अनुमति मागेका छौँ । बिहीबारसम्ममा निर्णय दिन्छु भन्नु भएको छ । त्यही समयमा उहाँले फिल्ममा अभिनय गर्ने कि नगर्ने भन्ने पनि निर्णय दिन्छु भन्नु भएको छ,’ केदारले इकागजसँगको कुराकानीमा बताए । यसैगरी फिल्ममा आर्यन सिग्देलको केमियो पनि ‘लक’ भइसकेको छैन । सुटिङको निधो नहुँदा आर्यनसँग पनि कुरा मात्र भइरहेको केदारले बताए । 

फिल्मले सिधा सिधा राजेश हमालको योगदानको चर्चा गर्नेभन्दा पनि यसको भावानात्मक पाटोको कथा भन्ने केदारले जानकारी गराए । ‘यो फिल्म उहाँको सम्मानमा बन्न लागेको हो नै तर यसमा सुपरस्टारको इमोसनको कुरामा हाम्रो कथा केन्द्रित छ,’ उनले भने । फिल्मको बाँकी कलाकार भने तय छन् । फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली र अस्मिता लामिछाने फिल्ममा अनुबन्ध भइसकेका छन् । 

फिल्मको सुटिङ भदौ २० बाट धनगढीबाट सुरु गर्ने निर्माण टिमको योजना छ । तर यही मितिमा सुरु हुने कि नहुने महामारीको स्थितिले निर्धारण गर्नेछ । 
फिल्मको निर्देशन भने जोन योञ्जनको रुपमा परिचित  विक्रम लामाले गर्न लागेका हुन् । उनले यसअघि ‘१२ सत्ताइस’को निर्देशन गरेका थिए । 

ekagaj.com

प्रतिक्रिया दिनुहोस्