सावित्रा परियारको धुनबिनाको गीतले पाएको नयाँ जीवन

| २०८० फागुन ७ गते १८: २० मा प्रकाशित

‘म यति रोइछैन

रुँदा दिल बुझाउने कोही छैन

घरैमुनि सल्लेरीको वन…’

गुल्मीकी सावित्रा परियारलाई के थाहा, मेलापर्वमा उनले गाउने धुनबिनाको यो गीत कुनैबेला लोकप्रिय हुन्छ भनेर । गाउँपाखामा उनले गाएको यो भाखाले नयाँजीवन पाएको छ । धुन हालेर सार्वजनिक गरिएको यो मर्मस्पर्शी गीत युट्युब ट्रेन्डिङको पाँचौं स्थानमा छ ।

शिव हमालको संगीतमा सावित्राको त्यो अर्गानिक गीतले पूर्णता पाएको छ । चार दिनमै गीतको अडियो संस्करणलाई दुई लाख ८४ हजार पटक हेरिएको छ । सावित्रा र यो गीत टिकटक र रिल्समा भाइरल छन् ।

सानैदेखि गायिका बन्ने सपना देखेकी सवित्राले गतसाता सामाखुसीको वान डीबी स्टुडियोमा गीत रेकर्ड गरिन् । पहिलोपटक काठमाडौं आएकी उनको सपना अब यतै बसेर कलाकारितालाई निरन्तरता दिने हो । यसका लागि उनलाई थुप्रै सहयोगी हातले साथ दिएका छन् ।

गुल्मीदेखि काठमाडौंसम्म

सावित्राले यो गीत गाउन थालेको धेरै भयो । मेलापर्वमा उनले धुनबिनै यो गीत गुन्गुनाइन् । कमल खत्री नामका युवकले धुनबिनाको उनको गायकीलाई सामाजिक सञ्जालमा हालिदिएपछि यो भाइरल बन्न थाल्यो । अनि त्यसलाई पर्वतका अशोक पौडेलले टिकटकमा हालेपछि सबथोक बदलियो ।

त्यसपछि उनी यति चर्चित बनिन् कि उनको जीवनको पटकथा नयाँ रुपले लेखिन थाल्यो । फेसबुक रिल्समा पहिलोपटक धुनबिनाको यो गीत सुनेपछि वानडीबी स्टुडियो चलाउँदै आएका एचबीएन किस्मतले रेकर्ड गर्ने निधो गरे । उनकै पहलमा सवित्रालाई काठमाडौं ल्याइयो । रेकर्ड गरेर उनको आवाजलाई बाजाको धुनमा रेकर्ड गरियो ।

‘घरमा खाना खाइरहेको बेला स्क्रोल गर्दा फेसबुक पेजमा गीत भेटाएँ । म बागलुङको भएकाले पनि यस्ता मौलिक गीतमा मेरो रुचि छ । मेरो ममीले पनि गाउनुहुन्छ । पञ्चैबाजा राखेर गाउने कन्सेप्ट आयो,’ किस्मतले भने, ‘शिव हमाल र ईश्वर सिंहसँग कुरा भयो । अनि गीतमा बाजा भर्ने योजना बन्यो । हामीले केही पैसा दिएपछि उहाँ स्वीटर र चप्पल किनेर काठमाडौं आउनुभयो ।’

काठमाडौं आउनुअघि नै सावित्रा सामाजिक सञ्जालमा भाइरल थिइन् । उनको त्यो गीतमा प्रशस्तै टिकटक भिडियो बनेका छन् ।


‘भष्मै’ सावित्राको थेगो हो । उनले काठमाडौं आइपुगेपछि आफूलाई भष्मै खुसी लागेको बताइन् । ‘मलाई यहाँको सबै राम्रो लाग्यो । भष्मै खुसी लागेको छ,’ उनले सम्झिइन्, ‘मेलापर्वमा गाएकी थिएँ । आफ्नो वेदना गाउँदा रोएँ पनि । सानैदेखि गाउँथे, गायिका बन्ने सपना पूरा भएन । अहिले सबैको सपोर्टले यहाँ आइपुगें ।’

तीन छोरीकी आमा हुन् उनी । छोरीको विवाह गरिदिइन् । आफ्नो गाउने धोकोमा श्रीमानको पनि साथ रहेको उनी सुनाउँछिन् ।

मौलिक आवाज संरक्षणको प्रयास

शिव हमालको संगीतमा गीत रेकर्ड भयो । रोचक के छ भने यो गीत युट्युबमा रिलिज हुँदा हमाल नेट राम्रोसँग नचल्ने धादिङको एक गाउँमा छन् । उनलाई यो गीतको भ्युज कति पुग्यो भन्ने पनि थाहा छैन । तर उनले सावित्रा र गीतबारे मजाले कुरा गरे ।

सावित्राको आवाजले मन छोएको हमाल बताउँछन् । ‘एउटा शब्द लेख्दिन परो भन्दै अफर गर्नुभयो । शब्द लेख्दै गर्दा मन छोयो । त्यो दिदीको आवाजले मन छोयो,’ शिव भन्छन् । रेकर्ड गर्नुअघि कसैको प्रतिलिपि अधिकार भए सप्रमाण आउनुहोला भन्दै सूचना जारी गरिएको समेत उनले सम्झिए ।

‘यसरी छरिएको मौलिक गीतलाई संरक्षणका लागि रेकर्ड गर्‍यौं । यो व्यावसायिक प्रयोजनका लागि नभई मौलिक रचनाको संरक्षणको प्रयास थियो,’ शिव भन्छन्, ‘दिदीलाई भोलि केही भइहाल्यो भने सिर्जना त मर्नेभयो । आवाज मर्न नदिनका लागि रेकर्ड गरेका हौं ।’

उनले यो गीतको भिडियो पनि आउन लागेको बताए ।

काठमाडौंमा बसेर कलाकारितालाई निरन्तरता दिन चाहे सावित्रालाई सघाउन आफूहरु तयार रहेको शिवले बताए । ‘यस्ता प्रतिभालाई केही गर्दा राम्रो हुन्छ । बसोबास र कलाकारितालाई निरन्तरता दिन काठमाडौं आउनुभएको छ । दिदीले चाहेको खण्डमा काठमाडौंमा बसेर कलकारितामा लाग्नुहुन्छ भन्ने हामीलाई लागेको छ । भाइरल बनाएर गाउँ पठाउनु हुँदैन,’ शिवले भने ।source- onlinekhabar

प्रतिक्रिया दिनुहोस्