जीवन एक विम्ब हो :अनिशा

| २०८० चैत १७ गते १५: ५२ मा प्रकाशित

पानीको रङसँग जीवनको रङ कहिल्यै मिलेन । पानीले आफूले बग्ने बाटो बिस्तारै बनाउँदै र गहिर्‍याउँदै लग्यो, जसका कारण उसलाई कटान गर्न सजिलो भयो । यही कारण उसले आफ्नो क्षेत्रफल बढाउन सक्यो । सानो डोरोको रूपमा भएको स्वरूपलाई एउटा अविछिन्न खोलोमा रूपान्तरण गर्‍यो। अहो ! जीवनको सार्थकता र उपादेयता । म आफैंमा हराएँ ।

मेरो जीवनको रङ कस्तो छ त? मनले फ्याट्ट प्रश्न तेर्स्याएर गयो । ऊ परजाँदै गर्दा मेरो मस्तिष्कले सोध्यो- आखिर कस्तो हो त यो जीवन ? म खोज्न थाले दुवैको अर्थ । जुन निष्पट्ट अँध्यारोमा हराएको थियो । झट्ट भेट्टाउन सकिएन । तब न खोजीकार्य जारी छ, आजसम्म कहाँ छ मेरो जीवनको आफ्नो रङ भनेर ।

जीवनको र खोलाको सङ्घर्ष उस्तै छ । तर, खोलाले आफ्नो यात्रा तय गर्न सक्यो, जीवनले सकेन । खोलो कतै ठोकिएको अवस्थामा पहरालाई नै लछारेर बग्छ तर जीवन त हार मानेर आफू शिथिल भएर फर्कन्छ त्यहाँबाट । खोलो थकित बन्दैन, जति तल गयो उति ठूलो र मजबुत बन्दै जान्छ । जीवन भने कमजोर बन्दै गइरहेको छ । खोलोको कहिल्यै अन्त्य छैन । ऊ कहिले खहरे बन्छ, कहिले उग्ररूप लिएर हिंड्छ । यो जीवनले त्यसो गर्न सकेन । ऊ सधैं खहरेमै रमायो किनभने उसले सकेन खोलोको रूप धारण गर्न । अनि सकेन अरूका आँखामा आँसु बगाउन पनि । हैन, कति टाढा गयो हो यो खोलो र जीवनको सम्बन्ध ? हेर्दा उस्तै सङ्घर्षको कथा छ तर अन्तरकथा बेग्लाबेग्लै ।

कसरी बग्ने हो ए खोलो । तेरो आकार र मेरो चाल फरक हुनाको कारण के होला ? मलाई मबाट हराउँछ कल्पनाले । त्यो खोलाको सलोपना जस्तो कसरी हुने हो ? मैले झ्यालबाट बाहिर हेर्न खोजेकि थिएँ । तर त्यो भर्खरै पलाउन थालेको घामका किरणले तिरिमिरि बनाइदियो । हरेक कुराको खोजी हुन्छ । त्यसको सिर्जना भने आवश्यकताले गर्छ । त्यो आवश्यकता कसरी आउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन । न त त्यसले आफ्नो समय र यात्राको विवरण दिन्छ न त कोसँग कसरी आउने भन्ने कुरा नै सुनाउँछ । यस्तै भइरहेको छ मन । 
म शून्यमा पनि छैन । र, छैन शिखरमा पनि । बीचको यात्रामा हिंड्दै गरेको मान्छेले कहिले आकाश देख्छ । कहिले धुलोमात्र देखेर निराश हुन्छ । फेरि फूलका रङ देखेर रमाउँछ एकैछिन । लाग्छ क्षणमा नै स्वर्गको स्वादमा आह्लादित भएको छ । -अनु

प्रतिक्रिया दिनुहोस्