गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

| २०८१ बैशाख २ गते १५: ५३ मा प्रकाशित

जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ ।

गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले गर्दा उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्छ । खानपानको रुचि फेरिन सक्छ । र, धेरै कुरा बद्लिन सक्छ । साथै भावनात्मक रुपमा पनि उनीहरु स्थिर हुँदैनन् । केही डर, केही पीर, केही दुःख, केही उत्साहका कारण उनीहरुको मनोदशा बद्लिरहन्छ ।

यसरी भावनात्मक र शारीरिक रुपमा आउने अनेक उतारचढावमा उनीहरुलाई सम्हाल्न, साथ दिन, शान्त राख्न सबैभन्दा नजिकको साथी हुनसक्छन् श्रीमान् ।

श्रीमानको सामीप्य, साथ, हौसलाले गर्भवती श्रीमतीलाई धेरै सहज हुन्छ । र, यो चरण उनीहरु जति सहज र खुसी हुन्छन्, गर्भको बच्चामा पनि त्यसको सकारात्मक प्रभाव पर्छ । त्यसैले गर्भवती श्रीमतीका लागि श्रीमानले यी भूमिका खेल्न सक्छन् ।

श्रीमतीको मनोबल बढाउने

गर्भवती अवस्थामा श्रीमतीलाई बाहिरी र आन्तरिक समस्या, पीडालाई बुझेर श्रीमानले आत्मबल बढाउने र सकारात्मक कुराहरु गर्नुपर्छ । गर्भावस्थामा केही समस्या जटिलता भएपनि ‘केही हुँदैन म छु’, ‘जस्तो परिस्थितिमा पनि म तिम्रो साथमा छु’ भनी  आत्मबल बढाउने र खुसी राख्ने प्रयास गर्नुपर्छ ।

गर्भावस्थामा श्रीमतीलाई सकेसम्म तनावबाट टाढा राख्ने प्रयास गर्नुपर्छ ।

गर्भावस्थामा महिलाको भावनामा उथलपुथल ल्याउनमा उनको शारीरिक परिवर्तन पनि जिम्मेवार हुन्छ । किनभने यसबेला चायापोतो आउने, मोटोपन बढ्ने, पेटको छालामा धर्सा बस्ने र कसैकसैलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो बेला उनीहरुको आत्मविश्वास कमजोर हुने र आफूले आफैंलाई उमेर गएको महसुस गर्छन् । यस्तो अवस्थामा श्रीमानले श्रीमतीलाई जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने विश्वास दिलाउन सक्नुपर्छ ।


गर्भावस्थामा महिलामा हार्मोनको परिवर्तनले महिलाको सोच्ने शैली परिवर्तन ल्याउने गर्दछ । यस्तो अवस्थामा महिलाको भावनाहरु बदलिरहने हुन्छ । उनीहरु सानो सानो कुरामा धेरै चिन्तित हुने, तनाव, बेचैनी, डर पैदा हुने, धेरै भावुक हुने अर्थात् रुने गर्छन् । यस्तो अवस्थामा उनीहरुको छिनछिनमा परिवर्तन भएको व्यवहारलाई बुझेर उनीहरुसँग रिसाउने र बाझ्नेभन्दा पनि उनीहरुको भावनालाई बुझेर सम्झाउने वा राम्रो कुराकानी गर्नुपर्छ ।

कामकाजमा सहयोग गर्ने

गर्भावस्थाको सुरुवाती महिनादेखि नौ महिनासम्म विभिन्न समस्या देखिन्छ । त्यसकारण गर्भावस्थामा श्रीमतीलाई घरको कामकाजमा पनि सहयोग गर्नुपर्छ । यसबेला शरीर कमजोर हुने, छिनछिनमा चक्कर लाग्ने, एकै छिनमा थकान महसुस हुने, झर्को लाग्ने वा रिस उठ्ने हुन्छ ।

थोरै काम गर्दा पनि धेरै थकान महसुस वा जीउ गल्ने भएकाले गर्भावस्थामा श्रीमानले लुगा धोइदिने वा धुँदा सहयोग गर्ने, खाना पकाउने, भाँडा माझिदिने र घरको सरसफाइमा मद्दत गर्ने गर्नुपर्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा पनि सहयोग मिल्छ । फलस्वरूप श्रीमतीलाई थकान वा अन्य पीडाबाट जोगाउँछ ।

नियमित गर्भजाँचमा साथ दिने

गर्भावस्थामा महिलालाई एक्लै चिकित्सक कहाँ पठाउने गल्ती गर्नुहुन्न। प्रत्येक पटकको जाँचमा आफू पनि श्रीमतीसँगै अस्पताल जानुपर्छ । यसले श्रीमतीलाई बलियो ढाडस दिन्छ ।

उनका लागि खानपान, समयअनुसारको लुगाकपडा किनिदिने र औषधि सेवन जस्ता कुरामा श्रीमानले ख्याल राख्नुपर्छ । यसबेला श्रीमतीसँग बस्दा वा कुराकानी गर्दा सकारात्मक र राम्रो कुरा मात्र गर्ने गर्नुपर्छ । यस्तो गर्नाले श्रीमतीले आफूलाई एक्लो र असुरक्षित महसुस गर्दिनन् ।

गर्भावस्था : आठ भ्रम र सत्य
शारीरिक व्यायाम गर्ने वा गराउने

गर्भावस्थामा श्रीमतीलाई शारीरिक र मानसिक रुपमा शान्त र स्वस्थ राख्न व्यायाम गर्ने गर्नुपर्छ । व्यायाम र ध्यान श्रीमतीलाई मात्र गराउने होइन आफू पनि सँगसँगै गर्नुपर्छ । यसले पेटभित्रको शिशु र आमा दुवैको शारीरिक र मानसिक अवस्था स्वस्थ राख्न मद्दत गर्छ । नराम्रो विचारबाट टाढा राख्छ ।

खानेकुरामा ध्यान दिने

गर्भावस्थामा महिलालाई गर्भवती बेला खान नहुने कतिपय खानेकुरा खाने इच्छा हुन्छ । त्यसैले श्रीमानले गर्भवती पत्नीको इच्छा भन्दा पनि आमा र गर्भेशिशुको  स्वास्थ्यलाई लाभ गर्ने खानेकुरामा जोड दिनुपर्छ । गर्भावस्थामा हरियो सागसब्जी, मौसमी फलफूल, ड्राइफुड, मासु र गेडागुडी खान दिने तर प्याकेजिङ खानेकुरा जस्तै चिप्स, बट्टामा राखेका अचार जस्ता खानेकुराबाट टाढा राख्ने भूमिका श्रीमानको हुन्छ ।

खानपानको विषयमा श्रीमानले आफूखुसी वा श्रीमतीको खुसीभन्दा पनि चिकित्सकको परामर्श लिएर प्राथमिकता  दिनुपर्छ । समय-समयमा नजिकै घुमाउन लैजानुपर्छ ।

स्वास्थ्य अवस्थामा ध्यान दिने

गर्भावस्थाको छैठौं र सातौं महिनाका लक्षण सामान्य हुन्छन् । आठौं र नवौं महिनामा गर्भवती महिलालाई थकान र कमजोरी बढ्छ । असहज महसुस हुने, निद्रा नलाग्ने, थकान महसुस हुने, धेरै पिसाब लाग्ने जस्ता समस्या हुन्छ । गर्भावस्थामा महिलाको हात-खुट्टा सुन्निने गर्छ । गर्भको शिशुको तौल बढ्दै जाँदा महिलाको शरीरको तौल धेरै बढ्न सक्छ र रक्तचाप बढ्दै गयो भने हातखुट्टा सुन्निने हुन्छ । यस्तो अवस्थामा मालिस गरिदिने, निद्रा नलाग्ने भएमा टाउकोमा मसाज गरिदिने, सुत्न सहज बनाइदिने गर्नुपर्छ । परिवारमा कुनै खटपट भएमा त्यसलाई व्यवस्थापन गरिहाल्दा श्रीमतीलाई तनावमुक्त बनाउँछ । onlinekhabar

प्रतिक्रिया दिनुहोस्