पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

| २०७९ भदौ २६ गते २३: ५६ मा प्रकाशित

एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार युएईको दुबईमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो।

श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा  १४७ रनमा अलआउट भयो।

पाकिस्तान कप्तान बाबर अजाम ५ रनमा र फखर जमान शून्यमा आउट भए। पाकिस्तानले चौथो ओभर चल्दा महत्वपूर्ण दुई विकेट गुमाएको थियो। दुवैलाई प्रमोद मदुशनले आउट गरेका थिए। 
 
त्यसपछि मोहमद रिजवान र इफ्तिखर अमहदले पाकिस्तानको रन स्कोर उकासे। अहमद ७१ रनको साझेदारी गरेपछि १४औं ओभरमा ३२ रन जोडेर आउट भए। यसपटक पनि प्रमोदले नै श्रीलंकालाई सफलता दिलाए। 
 
दुई ओभरपछि रिजवान ५५ रनमा आउट भए। उनले ४९ बलमा ४ चौका र १ छक्का हिर्काए।  त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउदा श्रीलंका जित नजिक पुगेको थियो। 

पाकिस्तानका मोहमद नवाज ६ रन, आसिफ अली ०, शादब खान ८ रन, नसिम शाह ४ रन र हरिस रउफ ८ रनमा आउट भए।

बलिङमा श्रीलंकाका प्रमोदले ४ विकेट र हर्षरंगाले ३ विकेट लिए।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा १७० रन जोड्यो। उसका भानुका राजापाक्षले नटआउट ७१ रन जोडे। उनले ४५ बलमा ६ चौका र ३ चौका हिर्काएका थिए। 

ओपनरद्वय पथुम निशंका ८ रन र कुशल मेन्डिस शून्यमा आउट भएका थिए। जसका कारण पकिस्तानले चौथो ओभरमा दुवै ओपनरलाई आउट गर्न सफल भयो। छैटौं ओभरमा धनुश्का गुणतिलका पनि १ रनमै हरिस रउफको बलमा बोल्ड भए। 

यसपछि धनंजय डिशिल्भाले २८ रन जोडे भने हर्षरंगाले २१ बलमा ३६ रन जोडे। 

बलिङमा पाकिस्तानका रउफले तीन विकेट लिन सफल भए। 

प्रतिक्रिया दिनुहोस्