श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै भारत सेमिफाइनलमा

| २०८० कार्तिक १६ गते २१: ०३ मा प्रकाशित

एजेन्सी। घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनल खेलेको हो ।

जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अल आउट भयो ।

विश्वकपमा श्रीलंकाको यो सबैभन्दा कम योगफल हो । श्रीलंका यसअघि विश्वकपमा सन् १९७५ मा वेस्टइन्डिजविरुद्ध ८६ रनमा अल आउट भएको थियो । विश्वकपमा सबैभन्दा कम रनमा २००३ मा श्रीलंकासँग क्यानडा ३६ रनमा अल अउट भएको थियो ।

क्यानडानै १९७९ को विश्वकपमा इंग्ल्यान्डसँग ४५ तथा नामिबिया २००३ को विश्वकपमा अष्ट्रेलियासँग समान ४५ रनमा अल आउट भएका थिए ।

ओडिआईमा सबभन्दा कम रनमा श्रीलंकासँग जिम्बावे र नेपालसँग अमेरिका समान ३५ रनमा अल आउट भएका थिए । एक समय श्रीलंका ओडिआई इतिहासकै कम योगफलमा पुग्ने संकटमा पुगेको थियो ।

भारतको विश्वकपमा यो हालसम्मकै ठूलो जित हो । भारतको यसअघि विश्वकपमा २००७ मा भारतले बर्मुडालाई २ सय ५७ रनले हराएको थियो ।

विश्वकपमा रनको हिसाबमा यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराएको थियो । त्यो नै विश्वकपमा एक टोलीले हात पारेको सर्वाधिक ठूलो जित थियो ।

श्रीलंकाका तीव्र गतिका बलर कसुन रजिथा १७ बलमा २ चौकासहित सर्वाधिक १४ रनको योगदान दिए । श्रीलंकाका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा शून्यमा आउट भए ।

कुशल मेन्डिस र चरिथ असलंका १–१ रनमा आउट भए । चरिथले २४ बलमा १ रन बनाएका थिए । एन्जिलो म्याथ्युज २५ बला १ चौकासहित १२ रनमा शामीको बलमा बोल्ड आउट भए । त्यो समय श्रीलंका १३.१ ओभरमा २९–८ को अवस्थामा थियो । महेश थिक्सेना २३ बलमा २ चौकासहित १२ रनमा नट आउट रहे ।

भारतका मोहम्मद शामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजा र जस्प्रित बुमराहले १-१ विकेट लिए ।

त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो । भारतको जितमा तीन ब्याटरले अर्धशतक प्रहार गरे । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए । ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए ।

विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए । श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रनको आक्रमक इनिङ खेलेका थिए । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए ।

गिल दिलशान मदुशानकाको बलमा एज लागेर कुशल मेन्डिसबाट क्याच आउट भए । दिलशानले इनिङको दोस्रो बलमै रोहित शर्मालाई चार रनमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि विराट कोहली र गिलले १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए ।

कोहली पनि दिलशानकै बलमा मिडअफमा क्याच आउट भए । श्रेयस ऐर पनि दिलशानकै बलमा महेश थिक्सेनाको बलमा क्याच आउट हुन पुगेका थिए । दिलशान मदुशानकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिएलिएका थिए ।

भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । भारतले अव ५ नोभेम्बरमा दक्षिण अफ्रिका र १२ नोभेम्बरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।

अष्टेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । न्युजिल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।

पाकिस्तान ७ खेलमा ३ मा जित र ४ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । विश्वकपको सेमिफाइनलमा पहिलो स्थानमा रहने टोलीले चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोली भिड्नेछन् । यो जितले भारत शीर्षस्थानमा रहने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्