यात्रा नै जिन्दगी

| २०८० चैत १४ गते ०९: ४९ मा प्रकाशित

मानिसको जीवन जन्मदेखि मृत्युसम्मको यात्रा हो । कसैले चाहोस् वा नचाहोस् कालगतिले मरियो भने सबैले बच्चादेखि वृद्घावस्थासम्मको कालखण्ड भोग्नैपर्छ । चाहे धनीको होस् वा गरिबको गहिरिएर सोच्ने हो भने मानिसको जीवन केवल सुखको खोज हो । यसो गरेर हुन्छ कि उसो गरेर हुन्छ कि । यो पाएपछि हुन्छ कि त्यो पाएपछि हुन्छ कि भन्दाभन्दै मानिसले आफ्नो जीवन बितेको पत्तै पाउँदैन । कति मानिस सुखको अनुभूति गरेर मर्छन् यो रहस्यकै विषय हो, तर दु:ख छैन भन्ने मान्छे भेट्नचाहिँ मुस्किलै पर्छ ।आफ्नो ज्ञान, शिक्षा, सीप र क्षमताअनुसार जीविकोपार्जनका लागि मानिसले अनेक कर्म गर्छ ।

धन, नाम, इज्जत कमाउने हेतुले मानिसहरू आफ्नो जन्मथलो छाडेर सुगम र विकसित ठाउँमा अस्थायी वा स्थायी रूपमै पनि बसाइँ सर्छन् । एकै ठाउँमा बस्छु भनेर कसैले सुख पाउँदैनन् र एकै ठाउँमा कोही पनि बसिरहन पनि सक्दैनन् । नयाँ ठाउँको भ्रमणबाट मानिसले नयाँ–नयाँ ज्ञान र चेतनाको निर्माण गरिरहेको हुन्छ । कुनै नयाँ ठाउँको यात्रापछि कोही पनि मानिस उस्तै रहनै सक्दैन । नयाँ ठाउँ, नयाँ मानिस, नयाँ स्वाद, नयाँ परिवेशले मानिसलाई बेग्लै अनुभूति गराउँछ । जीवनमा अनेक समस्या आउँछन् जान्छन् तर कतिपय मानिसलाई जहाँ गए पनि समस्या उही त हो, पीर उही त हो, कतै जाँदैमा के हुन्छ र यात्रा गर्दैमा के नै हुन्छ र भन्ने लाग्ने सक्छ।

स्वच्छ हावापानी र प्राकृतिक रूपले सुन्दर ठाउँको यात्राले शरीरमा बेग्लै स्फूति भरिदिन्छ । एकै दिनको भए पनि पदयात्रामा निस्कँदा बेग्लै रोमाञ्चकता प्राप्त हुन्छ । कहिलेकाहीं सुरक्षित स्थानमा एक्लै पनि यात्रा गर्न सकिन्छ । एक्लै यात्रा गर्दा मनमा आउने अनेक भाव र सोचले आफैंलाई बुझ्न मद्दत गर्छ, आफ्नै जीवनलाई केलाएर हेर्ने फुर्सद पाइन्छ ।

एक्लै यात्रा गर्दा कतै एकान्तमा पुगेर धक फुकाएर रुन पाइन्छ, चिच्याउन पाइन्छ जसले मनलाई हल्का बनाउँछ । गुम्सिएको मन चंगा हुन्छ । 

मन परेका साथीहरूसँग घुम्नुको मज्जा पनि बेग्लै हुन्छ । अझ नयाँ–नयाँ मानिससँग यात्रा गर्नुको कौतूहलता बेग्लै हुन्छ । त्यसमाथि आफूले प्रेम गरेको मानिस पनि सँगै यात्रामा छ भने ऊसँग नजिक हुने र गफ गर्दै एक–अर्कालाई बुझ्ने सुनौलो अवसर प्राप्त हुन्छ । कतै गुमनाम ठाउँमा आफ्नो नाम, पहिचान सारा कुरा बिर्सेर नयाँ मानिससँग भलाकुसारी गर्नु तथा नौलो सोच र तर्क सुन्नुको मज्जा बेग्लै हुन्छ । उमेर भैसकेपछि युवाका कुरा सुन्दै हिँड्न वा बालबालिकाहरूसँग खेल्दै हिंड्न रमाइलो हुन्छ । 

यात्रा पनि अनेक खालका हुन्छन् । धन कमाउनका लागि कामको यात्रा, रमाइलोका लागि गरिने अनेक ठाउँको यात्रा, शिक्षा र अन्य अवसरका लागि गरिने यात्रा, अन्तर्मनको यात्रा, सम्बन्ध निर्माणको यात्रा, नयाँ ठाउँको फिरन्ते यात्रा । कसै–कसैको यात्रा सोचेजस्तो पनि हुँदैन । यात्राका क्रममा अनेक खालका रमाइला/नरमाइला घटना घट्छन् । कतिको यात्रा बीचमै मोडिन्छ, तोडिन्छ । कोही गन्तव्यमा पुग्छन्, कोही बीचमै अल्झिन्छन् । हुरी, बतास, घामपानी, उकाली–ओराली यात्राका क्रममा भोग्नैपर्छ । कति यात्रामै भेटिन्छन्, कति यात्रामै छुट्छन् । चाहे जस्तोसुकै यात्रा होस्, कसैले कसैलाई पनि अन्त्यसम्म साथ दिन सक्दैन । आफ्नो स्टेसन आएपछि सबैले बाटो फेर्छन् अर्थात् ओर्लन्छन् वा झर्छन् । सबैको गन्तव्य एउटै हुँदैन र कसैले साथ लान र कुरेर बस्न पनि सक्दैन । बेलाबखत मानिसले भौतिक रूपमा, वैचारिक रूपमा, भावनात्मक रूपमा पनि साथ पाउँछ तर अधिकांश समय मानिसको यात्रा एकल यात्रा हो ।

एक्लै रमाएर हिंड्न सकेन र अरूको साथ खोज्न थाल्यो भने मानिस दु:खी हुन थाल्छ । अरूको आशा गर्नु नै दु:खलाई निम्ता दिनु हो । आफ्नो कुरा अरूले बुझेनन् भनेर र आफ्नो यात्रामा अरुले साथ दिएनन् भनेर पिरलिनु बेकार हो । 

मानिस अरूका बारेमा गुनासो गरिरहन्छ, तर ऊ आफैं पनि अरूलाई सदैव साथ दिन सक्दैन । मानिसको जीवन विरोधाभासले भरिएको छ । एक्लै हुँदा साथ खोज्छ, साथ हुँदा स्वतन्त्रता खोज्छ । मानिसहरू जीवनलाई दौड सम्झेर तँछाडमछाड गर्दै कुदिरहेका भेटिन्छन् तर अहिलेसम्म कुदेर उनीहरूले के पाए र के गुमाए भनेर धेरैले लेखाजोखा गरेका हुँदैनन् । फुर्सद छैन भन्दाभन्दै जीवनले अवकाश दिने बेला भैसकेको पनि धेरैले पत्तो पाउँदैनन् । म भन्छु— यो जीवन कुनै दौड होइन केवल यात्रा हो, कतै पुग्नैपर्छ भन्ने छैन, केही पाउनैपर्छ भन्ने छैन, वश अघि बढिरहेको अनुभूति पर्याप्त छ। 

कोही छिटो हिंडेर छुट्छन्, कोही ढिलो हिंडेर छु्ट्छन्, कोही सँगसँगै हिंड्दा–हिंड्दै बाटो बिराएर छु्ट्छन् तर अविरल यात्रा हो जीवन, जो मृत्यु शैयामा नपुगुन्जेल चलिरहन्छ, चलिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्