आर्थिक अभावको चपेटामा सन्धिखर्क मा रहेको पाणिनी क्याम्पस

| २०८० असोज ११ गते १३: ४७ मा प्रकाशित

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सन्धिखर्क १ मा रहेको पाणिनी बहुमुखी क्याम्पस आर्थिक अभावका बिच सञ्चालन भईरहेको छ । चरम आर्थिक अभाव भएपछि क्याम्पसले समस्या झेल्नु परेको छ ।

आर्थिक आम्दानीको गतिलो स्रोत नहुँदा क्याम्पस आर्थिक सङ्कटमा परेको छ । सञ्चालक समितिले आर्थिक संकटकाल घोषणा गर्ने अवस्था बनेको छ । क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरिएको आर्थिक विवरणमा आव २०७९/०८० सम्म क्याम्पस एक करोडको हाराहारी ऋणात्मक अवस्थामा रहेको उल्लेख गरिएको छ ।

बजेट प्राप्त नभएमा आर्थिक वर्ष २०८०/०८१ मा ८५ लाख ९ हजार थप आर्थिक दायित्व सृजना हुने क्याम्पसले अनुमान गरेको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै निमित्त क्याम्पस प्रमुख लक्ष्मण पोखरेलले आर्थिक अभाव समाधान नभए क्याम्पस संचालनमा समस्या आउने बताए । ‘कोभिडका कारण क्याम्पसमा आर्थिक अभाव सुरु भएको हो,उनले भने,‘त्यसयता क्याम्पसको अवस्था सुध्रन सकेको छैन ।’

गत वर्षको फागुन महिना यता प्राध्यापकहरुले पारिश्रमीक पाउन सकेका छैनन् । चरम आर्थिक अभाव भएपछी उनीहरुको तलब दिन नसकेको क्याम्पस प्रशासनले जनाएको छ । सात महिनादेखी प्राध्यापकहरु तलबविहिन भएर अध्यापन गराउन बाध्य छन् ।

अर्घाखाँची जिल्लाको भविष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकाले यसमा तिनै तहका सरकारको ध्यान जान जरुरी रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष बिष्णु मुस्कानले बताए । आम्दानीको स्रोत व्यवस्थापन गर्न नसके केही वर्षमै ठूलो ऋणको भारसहित क्याम्पस बन्द हुने अवस्थामा पुग्ने सम्भावना रहेको भन्दै उनले सबै मिलेर यसको समाधान खोज्नुपर्ने बताए । ‘हाम्रो क्याम्पस अहिले आर्थिक संकटबाट गुज्रीरहेको छ, अध्यक्ष मुस्कानले भने,‘तिन तहकै सरकारको समयमा ध्यान पुग्न सकेन भने समस्या निम्तन सक्छ ।’

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको पढाई हुन्छ । प्राध्यापक र कर्मचारी गरेर ३४ जना कार्यरत छन् । विसं. २०४५ सालमा स्थापना भई जनस्तरबाट सञ्चालन भएको क्याम्पसमा हाल ८८७ विद्यार्थी अध्ययनरत रहेका छन् ।

संकट हल गर्ने राज्यमन्त्रीको प्रतिबद्धता

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले क्याम्पसको समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै मन्त्री श्रीपालीले जिल्लाको मुटु मानिएको पाणिनी बहुमुखी क्याम्पसको आर्थिक सुधारका लागि आवश्यक बजेट विनियोजन गर्ने बताईन् । यसको विकास र विस्तारका लागी सबै सरोकारवाला पक्ष लाग्नुपर्ने भन्दै उनले संघिय सरकारको तर्फबाट आफुले पहल गर्ने बताईन् ।

यस्तै लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरेले क्याम्पसमा आर्थिक अभाव रहेकाले दिगो समाधान खोज्नुपर्ने बताए । क्याम्पसको वास्तविक अवस्था सञ्चालक समितिले बाहिर ल्याएको भन्दै घिमिरेले अब सबै मिलेर दीर्घकालीन समाधानको बाटोमा जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्