एमालेको तर्फबाट सन्धिखर्कका मेयर, उपमेयरका उम्मेदवार भोट माग्न अर्घामा

| २०७९ बैशाख १५ गते १७: ११ मा प्रकाशित

अर्जुन भुसाल ,अर्घाखाँची। नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ र उपमेयर पदका उम्मेदवार मिश्रा आचार्यले सन्धिखर्क ९ अर्घाका विभिन्न ठाउँहरूमा चुनावी सभाहरु सम्पन्न गर्नुभएको छ । 

नौलापानी, चपरुङ, थेरबाङ,फलेपथ, सक्रेटी,मसान्डाँडा, हिले, मैदानमा मेयर,उपमेयरका उम्मेदवारले वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरूको साथमा चुनावी सभाहरू सम्पन्न गर्नु भएको हो ।  एमालेले सन्धिखर्क ९ मा  पदम भुसाललाई अध्यक्ष, महिला सदस्यमा देवी खड्का, दलित महिला सदस्यमा सिमा परियार, खुल्ला सदस्यहरुमा विष्णुप्रसाद आचार्य र नारायण रायमाझीलाई  उम्मेदवार बनाएको छ ।  

 एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता, प्रदेश सांसद तथा पार्टी केन्द्रीय सदस्य चेतनारायण आचार्यको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य सरोज भुसाल, भोजबहादुर गन्धर्व, जिल्ला सचिव विधान रायमाझी, जिल्ला कमिटी सदस्य तथा  क्षेत्रीय कमिटी संयोजक रामबहादुर रायमाझी, सदरमुकाम विशेष इलाका कमिटी अध्यक्ष तथा युवा इन्चार्ज खुवीराज आचार्य, जिल्ला सदस्य तथा अनेम संघ अध्यक्ष दीपा आचार्य, जिल्ला सदस्यहरु सुष्मा श्रेष्ठ, देवी थापा भुसाल, प्रदीप नेपाली लगायतको आतिथ्यता रहेको थियो ।   

कार्यक्रमहरूमा बोल्दै प्रमुख अतिथि रायमाझीले एमालेको नीति र नेतृत्वले नै देशले निकास पाउने बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा अधिकांश ठाउँमा एमालेको जित सुनिश्चित भएको दावी गर्नुभयो । मेयर पदका उम्मेदार श्रेष्ठले एमालेका उम्मेदवारहरूको विजयीले मात्रै विकास समृद्धि संभव हुने भन्दै आफूहरुको विजयीले नै नमूना नगर निर्माणको परिकल्पना साकार हुने बताउनुभयो । उहाँले व्यवसायीक कृषिमार्फत  बेरोजगारी समस्याको हल गर्ने बताउँदै 
शिक्षा, स्वास्थ्य, पर्यटन खानेपानी, पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेख्य काम गरिने बताउनुभयो । 

उपमेयर  पदका उम्मेदवार आचार्यले एमाले नेतृत्वको सरकारले गरेका लोकप्रिय तथा दीर्घकालीन महत्त्वका कामले नै एमाले प्रतिको आकर्षण बढेको बताउनुभयो । वडा अध्यक्ष पदका उम्मेदवार भुसालले एमालेको बलियो संगठन, सक्षम उम्मेदवार  र लोकप्रिय कामका आधारमा जित सुनिश्चित रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्